खोटाङ । रावा बेसी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित कुल बजेट ४० करोड ६३ लाख ५८ हजार बराबरको बजेट तथा कार्यक्रम पेस गरेको छ । गाउँपालिकाको आइतवार सम्पन्न गाउँसभामा गाउँपालिका उपाध्यक्ष कौशिला कुमारी गुरुङले उक्त बजेट तथा कार्यक्रम पेस गरेकी हुन् ।
गाउँपालिकाले ५० वर्ष पुगेका अविवाहित महिलालाई जीवन निर्वाह भत्ता प्रदान गर्ने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले गर्दै ५० वर्ष पुगेका अविवाहित महिलालाई भत्ता दिने बताए । अघिल्लो आर्थिक वर्षबाट गाउँपालिकाले ४५ वर्ष पुगेका विधुर पुरुषलाई मासिक १५ सय भत्ता दिदै आएको छ । उक्त कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएको छ । आगामि आर्थिक वर्षबाट ५० वर्ष पुगेका अविवाहित महिलालाई पनि मासिक १५ सय भत्ता दिने गरी नीति कार्यक्रम तथा बजेट ल्याएको हो ।
यस्तै, कक्षा ११ र १२ सञ्चालन भएका विद्यालयहरुलाई आवश्यक अनुदान उपलब्ध गराएर सम्पुर्ण शिक्षा निःशूल्क गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । शैक्षिक सत्र २०८२ देखि गाउँपािलका भित्रका सम्पुर्ण विद्यालयमा कक्षा १ देखि अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट पठनपाठन गरिने गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ ।
यस्तै, ज्येष्ठ नागरिक तथा असहायसँग स्वास्थ्य कार्यक्रम, गाउँपालिका भित्रका सुत्केरी महिलालाई निःशूल्क एम्बुलेन्स सेवा, उत्पादित कृषि उपजलाई बजारसम्म लान ढुवानीमा अनुदान प्रदान, बाँझो जमिनको प्रयोग गरी फलफुल खेतीलाई प्रवद्र्धन, गाउँपालिकालाई तेलहन तथा मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम गाउँपालिकाले प्रस्तुत गरेको छ ।
यस्तै, महिला स्वयंसेविकालाई यातायात तथा सञ्चार खर्चको व्यवस्था गरिने लगायतका नीति तथा कार्यक्रम गाउँपालिकाले प्रस्तुत गरेको छ । भौतिक पूर्वधारमा पालिका भित्रका सबै सडकको वर्गिकरण गरी स्तरोन्नती गरिने, यो वर्ष निर्माण हुन सुरु भएका गाउँपालिकाको प्रशासनीक भवन, वडा नम्बर २, ४ र ६ को वडाकार्यलय भवन र वडा नम्बर १ को स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गर्नुका साथै वडा नम्बर ६ हौँचुरको स्वास्थ्य चौकी भवन यो वर्ष निर्माण गरिने नीति कार्यक्रम तथा बजेटमा प्रस्तुत गरिएको छ ।