एसइईमा खोटाङका नौ विद्यालयको नतिजा शून्य

एसइईमा खोटाङका नौ विद्यालयको नतिजा शून्य

रोदिक खबर

१४, आषाढ २०८१
  • 3.3K
    SHARES
  • एसइईमा खोटाङका नौ विद्यालयको नतिजा शून्य

     खोटाङ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा खोटाङका नौँ विद्यालयको नतिजा शून्य आएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीवार सार्वजनिक गरेको नतिजा अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकाको तीन, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाको दुई/दुई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेँसी गाउँपालिकाको एक/एकवटा विद्यालयको नतिजा शून्य आएको हो ।

    हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कालिका माध्यमिक विद्यालय र सोही नगरपालिकाको वडा नं. २ डिकुवास्थित दाम्ली माध्यमिक विद्यालयको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ । कालिका माध्यमिक विद्यालय र दाम्ली माध्यमिक विद्यालयबाट १७/१७ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित जनता माध्यमिक विद्यालय मुसुरीडाँडा र पञ्चकौशिका माध्यमिक विद्यालय भण्डारेघाट र सोही गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित सरस्वती माध्यमिक विद्यालयको नतिजा शून्य आएको छ । जनता माध्यमिक विद्यालयबाट ३५, पञ्चकौशिका माध्यमिक विद्यालयबाट २४ र सरस्वती माध्यमिक विद्यालयबाट १७ जना विद्यार्थी सहभागी भएका थिए ।

    सोही गाउँपालिकाको वडा नं. ६ छितापोखरीस्थित जनसेवा माध्यमिक विद्यालय दिहुँ र वडा नंं ७ टेम्मास्थित शान्ति माध्यमिक विद्यालयका एक/एक जना विद्यार्थी उत्तिर्ण भएका छन् । जनसेवा माध्यमिक विद्यालयबाट १० जना तथा शान्ति माध्यमिक विद्यालयबाट १६ जनाले एसइई दिएका थिए ।

    यस्तै, साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला माध्यमिक विद्यालय र सोही गाउँपालिकाको वडा नं. ३ खिदिमास्थित सिद्धेश्वरी माध्यमिक विद्यालयको नतिजा शून्य आएको छ । साकेला माध्यमिक विद्यालयबाट २४ तथा सिद्धेश्वरी माध्यमिक विद्यालयबाट २२ जनाले परीक्षा दिएका थिए ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय र रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापनीस्थित देउराली माध्यमिक विद्यालयको पनि नतिजा शून्य आएको छ । अन्नपूर्ण माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयबाट २७/२७ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

    दश स्थानीय तह रहेको जिल्लामा जिल्लामा एक सय वटा सामुदायिक र चारवटा संस्थागत माध्यमिक विद्यालय सञ्चालनमा छन् । सामुदायिक तथा संस्थागत दुवैगरी यस वर्षको एसइईमा खोटाङका दुई हजार ९५६ परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा सहभागीमध्ये एक हजार ४१५ जना अर्थात ५१ दशमलव ११ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख तीर्थबहादुर विश्वकर्माले जानकारी दिए ।

    साधारणधारतर्फ नियमित दुई हजार ७६५, प्राविधिक धारतर्फ १२९ र ग्रेडवृद्धितर्फ ६२ जना परीक्षार्थी रहेका थिए । एसइईका लागि जिल्लाभर २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । परीक्षामा अमर्यादित क्रियाकलाप गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मनकामना माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट तीन तथा सोही नगरपालिकाको वडा नं. १२ जालपास्थित जालपा माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट तीनजना विद्यार्थी प्रहरी नियन्त्रणमा परेका थिए ।

    एसइईमा सहभागीमध्ये अनुत्तिर्ण अर्थात ननग्रेडिङमा परेका एक हजार ३५४ विद्यार्थी भने, कक्षा–११ मा भर्ना हुन अस्वीकृत भएका छन् । अनुत्तिर्णमध्ये दुई विषय लागेका विद्यार्थीले मात्रै अङ्क वृद्धि (ग्रेडवृद्धि) को परीक्षा दिन पाउने शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जानकारी दिएको छ ।

    यसैबीच, सामुदायिक विद्यालयतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माध्यमिक विद्यालयका तीनजना छात्राले समान अङ्क ल्याएर जिल्ला प्रथम भएका छन् । एरिका रिजाल, हिमाञ्जली आचार्य र सपना ढकालले समान तीन दशमलव ७९ प्रतिशत अङ्क ल्याएर जिल्ला प्रथम भएको जनाइएको छ ।

    छात्रतर्फ पनि पञ्च माध्यमिक विद्यालयकै निश्वार्थ आचार्यले तीन दशमलव ७३ प्रतिशत अङ्क ल्याएर जिल्ला प्रथम भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । संस्थागततर्फ माउण्ट एभरेष्ट बोर्डिङ स्कूकल दिक्तेलका अजय पाण्डेले तीन दशमलव ८४ प्रतिशत अङ्क ल्याएर जिल्ला प्रथम भएको जनाइएको छ ।

    प्रकाशित मिति :आषाढ १४, २०८१ शुक्रवार - २२:४६:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको