दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले टी २० विश्वकप क्रिकेटको उपाधि जितेको छ । शनिबार बारबाडोसको ब्रिजटाउनमा भएको फाइनल खेलमा ७ रनले दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले दोस्रोपटक विश्वकपको उपाधि उचालेको हो ।
पहिला ब्याटिङ गर्दै भारतले १७६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटका १६९ रन मात्र बनाउन सक्यो ।
पछिल्लो ३० बलमा ३० रन आवश्यक रहेको अवस्थामा दक्षिण अफ्रिकाले विस्फोटक ब्याटिङ गरेका हेनरिक क्लासेनको विकेट गुमाएको थियो । त्यसपछि भारत नाटकीय रूपमा खेलमा फर्कियो ।
भारतले २००७ मा आयोजना भएको टी २० विश्वकपको उपाधि जितेको थियो भने त्यसको १७ वर्षफछि फेरि सो उपाधि जितेको हो ।
भारतको जितमा ब्याटिङतर्फ विराट कोहलीले ७६ रन बनाए भने बलिङतर्फ हार्दिक पंड्याले तीन विकेट, जसप्रित बुमरा र अर्शदिप सिंहले दुई दुई विकेट लिए ।