चम्पावती माबिको भवन माथि वर्ष दिनअघि खसेको पहिरो पन्छाउन बेवास्ता

चम्पावती माबिको भवन माथि वर्ष दिनअघि खसेको पहिरो पन्छाउन बेवास्ता

रोदिक खबर

११, श्रावण २०८१
  • 2.5K
    SHARES
  • चम्पावती माबिको भवन माथि वर्ष दिनअघि खसेको पहिरो पन्छाउन बेवास्ता

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित चम्पावती माबिको कुलेसोमा खसेको पहिरो पन्छाउन बेवास्ता भएको छ ।

    वर्ष दिनअघि माथिबाट खसेर विद्यालयको कुलेसोमा थुप्रिएको पहिरो पन्छाउन सरोकारवालाले बेवास्ता गरेको हो ।

    अविरल वर्षाका कारण २०८० भदौ ११ गते खसेको पहिरोले कक्षा ७ र ८ पठन–पाठन भइरहेको कोठाको झ्यालसम्मको पर्खाल पुरेको छ ।

    शौचालयको कुलेसोमा थुप्रिएको पहिरो छतसम्मै निस्किएको छ । हिलाम्मे पहिरो कक्षा ८ को झ्यालबाट कोठाभित्रै छिरेको थियो । कोठामा हिलो र पानी छिरेर आहाल भएको थियो । झ्यालसम्म निस्किएको पहिरोलाई कार्यालय सहयोगीमार्फत केहीमुनिसम्म पन्छाउन लगाएको प्रअ जेनी राई बताउँछिन् ।

    प्रअ राईका अनुसार विव्यासको निर्णय अनुसार वडा कार्यालयदेखि नगरपालिकासम्म लिखित र मौखिक रुपमा पहिरो पन्छाउन आग्रह गरिएको थियो । तर विद्यालयको कुलेसोमा पहिरो खसेको वर्ष दिन बित्दा समेत हटाउन चासो र चिन्ता नदिइएको अभिभावक बताउँछन् ।

    अनुगमन एवं निरिक्षणका क्रममा नगर प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राईदेखि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईसम्मले विद्यालयको पहिरो देखिसकेका छन् ।

    नगरप्रमुख भट्टराईले पहिरो हटाउन स्काभेटर पठाइदिने आश्वसन दिएका थिए । तर अहिलेसम्म स्काभेटर नआएको प्रअ राईको भनाई छ । चम्पावती माबिमा हाल १२४ विद्यार्थी अध्ययनरत छन् ।

    प्रकाशित मिति :श्रावण ११, २०८१ शुक्रवार - १३:५१:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको