• ट्रेण्डिङ:

खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना

खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना

रोदिक खबर

११, श्रावण २०८१
  • 2.4K
    SHARES
  • खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।

    खार्मीसँगै वडा नं. १० पाथेकाबासीका लागि समेत शान्तिसुरक्षा प्रदान गर्न तथा ग्रामीण क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न खार्मीको खानीडाँडामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।

    अस्थायी प्रहरी चौकी खार्मीमा तत्कालका लागि बरिष्ठ हवल्दारको नेतृत्वमा छ जनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

    “नागरिकलाई शान्तिसुरक्षा दिनु प्रहरीको कर्तव्य हो । स्थानीय नागरिकलाई शान्तिसुरक्षा दिन खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ”, उनले भने, “नागरिक बिना बर्दीका प्रहरी हुन् ।

    उहाँहरुको सहयोग र समन्वयले मात्र समाजमा शान्तिसुरक्षा कायम गर्न सक्छौँ । अस्थायी प्रहरी चौकीमा खटिएका प्रहरीहरुले स्थानीय बासिन्दासँग सहकार्य गरेर अघि बढ्छ ।”

    खानीडाँडास्थित स्वास्थ्य चौकी नजिकैका स्थानीय बासिन्दाको घर भाडामा लिएर स्थापना गरिएको अस्थायी प्रहरी चौकी शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उद्घाटन गरेका हुन्।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ कार्कीले शान्तिसुरक्षा कायम राख्न स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका हुने बताए ।

    प्रहरी चौकी उद्घाटन कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, वुद्धिजीवी, समाजसेवी, स्थानीय बासिन्दा लगायतको उपस्थिति थियो ।

    उद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्थानीय जगत आधारभूत विद्यालयका विद्यार्थी तथा स्थानीय बासिन्दाले सास्ँकृतिक झाँकीसहित फूलमाला र अबिरले स्वागत गरेका थिए ।

    खार्मीस्थित खानीडाँडाका स्थानीय तस्वीर उदासको घरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको वडाध्यक्ष ईखबहादुर राईले बताए ।

    “प्रहरी चौकीका लागि आवश्यक फर्निचर, बिजुली, खानेपानी लगायतका सुविधा वडा कार्यालयबाट उपलब्ध गराइएको वडाध्यक्ष राईको भनाई छ।

    अस्थायी प्रहरी चौकी तालखर्कले शान्तिसुरक्षा प्रदान गर्दै आएको खार्मीमा अस्थायी प्रहरी चौकी आएपछि स्थानीय बासिन्दासमेत हर्षित बनेका छन् ।

    खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै गाउँमा हुने सानातिना मुद्दा मिलापत्र गर्नका लागि तालखर्क तथा जिल्ला धाउनुपर्ने बाध्यता अन्त्य भएपछि स्थानीय बासिन्दा हर्षित भएका हुन् ।

    यसअघि, यही साउन–९ गते बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा अस्थायी प्रहरी चौकीको उद्घाटन गरिएको थियो ।

    दश स्थानीय तह रहेको जिल्लामा खार्मीसहित प्रहरी चौकी भएको स्थान २४ पुगेको छ । दश स्थानीय तहको ७९ वटा वडा रहेको जिल्लामा एउटा जिल्ला प्रहरी कार्यालय, छ वटा ईलाका प्रहरी कार्यालय, तीनवटा विमानस्थल सुरक्षा कार्ड, पाँचवटा अस्थायी प्रहरी सहायता कक्ष तथा एकवटा पर्यटक प्रहरी सहायता कक्ष सञ्चालनमा छन् ।

    जिल्लामा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रनाउ खड्का नेतृत्वको वर्तमान प्रहरी सङ्गठनको भूमिका महत्वपूर्ण रहेको जिल्लावासी प्रतिक्रिया छ ।

    प्रकाशित मिति :श्रावण ११, २०८१ शुक्रवार - २०:५८:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको