विराटनगर । कोशी प्रदेशका वन रक्षक आन्दोलित बनेका छन् । गत साउन ६ गतेबाट सम्पूर्ण कामकाज ठप्प पार्दै उनीहरू आन्दोलित बनेका हुन् । सहायक स्तर तेस्रो तह कायम गरिनुपर्ने लगायत माग अघि सार्दै उनीहरु आन्दोलित बनेका हुन् ।
चौथो तहमा पदपूर्ति गर्दा आन्तरिक प्रतियोगितात्मक परीक्षा र ज्येष्ठता तथा कार्यक्षमता मूल्याङ्कनबाट हुने बढुवाको समेत व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन् ।
आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई थप शसक्त बनाउँदै लगिने र रिले तथा आमरण अनशन बस्ने वनरक्षक हकहित संरक्षण सङ्घर्ष समिति कोशी प्रदेश सचिव सुरेन्द्र थलाङले बताए ।
माग सम्बोधनका लागि २४ घण्टे अल्टिमेटम राखेर गत ६ गते विज्ञप्ति जारी गरेको बताउँदै उनले भने, 'हामीले प्रदेशका सम्पूर्ण डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रदेश वन निर्देशनालयमा ज्ञापन पत्र पनि बुझायौँ ।तर हाम्रो माग सम्बोधनमा कसैले चासो देखाएको छैनन् ।' अरू प्रदेशमा जस्तै वन रक्षकलाई तेस्रो पद कायम गरिनुपर्ने उनले बताए ।
हामीले अग्रपङ्तिमा बसेर काम गर्नुपर्ने भए पनि कोशी प्रदेशको निजामती सेवा ऐन २०७९ मा कोशी प्रदेशमा कार्यरत वन रक्षक कर्मचारीहरूको वृत्तिविकास हुने प्रावधान नसमेटिएको वन रक्षक सन्तोष कटुवालले बताए ।
अन्य प्रदेशले निजामती सेवा ऐनमा वन रक्षक पदलाई सहायक तेस्रो तह कायम गरी वृत्तिविकासको समेत मार्ग प्रशस्त गरिए पनि कोशी प्रदेशले अप्राविधिक आधारभूत तहमा राखेर वृति विकासको समेत प्रावधान नराखेको कटुवालको भनाइ छ ।
यस विषयमा गत मङ्सिरदेखि नै सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएको उनले बताए ।
राज्यले प्राविधिक पद भनेर स्वीकार गरेको, अन्य प्रदेशको प्रदेश निजामती सेवा ऐनमा वन रक्षकलाई तेस्रो तहमा राखिएको छ भएपनि कोशीले आफूहरू माथि अपमान गरेको कटुवालले बताए ।
प्रदेश सरकारले वन रक्षकलाई सहयोगीको हैसियतमा राखेर वृत्तिविकासको अवसर पनि ठप्प पारेकाले आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको उनीहरूको भनाई छ ।
प्रदेशका १४ वटै जिल्लाका १५ वटा डिभिजन वन कार्यालयमा कार्यरत वन रक्षक आन्दोलनमा सामेल छन् ।
पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका उपसचिव तथा प्रवक्ता धुव्रकुमार भण्डारीले आफूलाई यस विषयमा जानकारी नभएको बताए । उनले यस विषयमा आफूले केही बताउन नसक्ने र सचिव आएपछि मात्र थाहा हुने प्रतिक्रिया दिए ।