• ट्रेण्डिङ:

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङको वार्षिक समिक्षा बैठक सम्पन्न

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङको वार्षिक समिक्षा बैठक सम्पन्न

रोदिक खबर

१७, भाद्र २०८१
  • 2.3K
    SHARES
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङको  वार्षिक समिक्षा बैठक सम्पन्न

     खोटाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ खोटाङको नीति तथा कार्यक्रमहरूको कार्यान्वयनका लागि समन्वय तथा वार्षिक समिक्षा बैठक सोमबार सम्पन्न भएको छ ।

    स्वदेशी पूँजी, स्वदेशी सीप र श्रमलाई उच्चतम प्रयोग गर्न तथा चकलाबन्दी खेती गरी बालिमा विविधता ल्याउने प्रमुख उद्देश्यका साथ खोटाङ र उदयपुर जिल्लामा गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको समिक्षा र आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमका वारेमा छलफल गरिएको हो ।

    समन्वय तथा समिक्षा बैठकमा कार्यक्रम कार्यान्वयन एकाइ खोटाङका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले परियोजनाका स्वीकृत कार्यक्रमहरू उत्पादनमुखी परिणाम निकाल्ने तवरबाट प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

    राईले परम्परागत तरिकाबाट भन्दा प्रभावकारी कार्यान्वयनका लागि नयाँ र वैज्ञानिक शैली अपनाउनुपर्ने भन्दै परियोजनाको मर्म अनुसार थप व्यावसायिकरण प्रवद्र्दन र आत्मनिर्भर कृषिको सबलीकरणमा जोड दिन आग्रह गरे । राईले कार्यक्रमलाई वास्तविक श्रमजीवि कृषकको पहुँचमा पुग्ने गरी निर्धारण गर्न पनि आग्रह गरेका छन् । समृद्धिको मुख्य आधार रूपान्तरित र परिष्कृत कृषि सम्बद्ध परियोजना र कार्यक्रम भएकाले त्यसलाई उच्च प्राथमिकतामा राख्नुको विकल्प नभएको राईको भनाइ थियो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले श्रम र पसिना देशमै लगानी गर्ने वातावरणका लागि तत्काल आयआर्जन गर्ने कार्यक्रमहरूमा जोड दिन आग्रह गर्दै उत्पादनसँगै बजारीकरणका कार्यक्रमलाई पनि केन्द्रित गरेर व्यवस्थित बनाउन आग्रह गरे ।

    प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उत्पादनमा आत्मनिर्भर बनाउन कृषिमा युवाहरुलाई प्रवेश गराउनुपर्ने बताउदै कृषि आम नागरिकको रुचि बन्नुपर्ने सुझाव दिए । दक्ष जनशक्ति नभएसम्म खोजेअनुसारको प्रगति हासिल नहुने भन्दै कृषिमा लगानी गरेर प्रशस्त रोजगारी सिर्जना गर्न सकिने प्रजिअ कार्कीले बताए ।

    बैठकमा जिल्ला समन्यव समिति खोटाङका उपप्रमुख सुरेशकुमार तामाङ, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्य, कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राई, जिल्ला समन्यव समिति खोटाङका निमित्त जिल्ला समन्वय अधिकारी सिताराम आचार्य, घरेलु तथा साना उद्योग विकास समिति खोटाङका प्रमुख भेषराज खत्री, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र पतिनिधि श्रीलाल चौधरी, डिभिजन वन कार्यालय खोटाङका प्रतिनिधि धर्मराज चौधरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कृषि शाखा प्रमुख तेजप्रकाश जैसी,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पशु शाखा प्रमुख गणेश आचार्य,  तरकारी जोन सञ्चालन समन्वय समितिका सदस्य झमप्रसाद आचार्य लगायतको उपस्थिति रहेको परियोजना कार्यान्वयन एकाइ खोटाङका सूचना अधिकारी ध्रुवकुमार कार्कीले जानकारी दिए ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ खोटाङका प्रमुख दिपेन्द्र मनोहर चौधरीले परियोजनाले खोटाङ र उदयपुर जिल्लामा गत आर्थिक वर्ष सञ्चालित कार्यक्रमको गतिविधि, बजेट र खर्चको विवरण र चालू वर्षको कार्यक्रमका वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ खोटाङमा वि.सं २०७३ देखि सञ्चालन हुँदै आएको छ ।

    प्रकाशित मिति :भाद्र १७, २०८१ सोमवार - १९:५८:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको