शुक्रवार, भाद्र २६ गते २०८३

नुनथलामा निर्माणाधीन ‘ला ज्यालो वाङ थोप’ गुम्बा छ वर्षदेखि अलपत्र

नुनथलामा निर्माणाधीन ‘ला ज्यालो वाङ थोप’ गुम्बा छ वर्षदेखि अलपत्र

रोदिक खबर

१०, आश्विन २०८१
  • 2.5K
    SHARES
  • नुनथलामा निर्माणाधीन ‘ला ज्यालो वाङ थोप’ गुम्बा छ  वर्षदेखि अलपत्र

    खोटाङ १० असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा छ वर्षअघि निर्माण शुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा छ वर्षदेखि अलपत्र परेको छ ।

    पाँच वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालीन १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७४ माघ–१९ गते शिलान्यास गरेको गुम्बा निर्माणको काम अहिले अलपत्र अवस्थामा रहेकोे हो ।

    कोशी प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा निर्माण शुरु गरिएको गुम्बाको काम उपभोक्ता समितिमार्फत थालिएको थियो ।

    करिब २१ करोड लगानीमा निर्माण शुरु गरिएको गुम्बाको अहिलेसम्म जगमात्र ठडिएको छ । ६० फिट अग्लो हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख छ ।

    वर्ष दिनअघि (वि.सं. २०८० सालभित्र) नै निर्माण सम्पन्न भएर सञ्चालनमा आउनुपर्ने नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा निर्माणाधीन गुम्बाको जगमा प्रयोग गरिएको फलामे रड अहिले खिया लागेर बाङ्गिन थालेको छ । तर, निर्माणाधीन अवस्थामै अलपत्र परेको गुम्बाको काम पुनः अगाडि बढ्ने कुनै छाट्काट छैन ।

    आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाले उपलब्ध गराएको १५ लाख बजेटमा फाउण्डेसनको काम भएको र आर्थिक वर्ष २०७६/७७ मा प्रदेशको ९९ लाख बजेटबाट ग्राउण्ड फ्लोर र पिलरको डण्डी ठड्याइएको थियो ।

    प्रदेश सरकारले एक करोड ५० लाख बजेट विनियोजन गरे पनि उपभोक्ता समितिमार्फत एक करोड भन्दा कमको मात्र योजना सञ्चालन गर्न पाइने भएकाले ९९ लाखको सम्झौता गरिएको स्थानीय बासिन्दाको गुनासो छ ।

    प्रदेशबाट विनियोजित बजेटबाट काम सम्पन्न गरेको भनि उपभोक्ता समितिले फरफारक गरेपनि विनियोजित बजेटमा अनियमितता भएको भन्दै स्थानीय बासिन्दाले प्रदेशमा गुनासो गरेका थिए ।

    गुम्बा निर्माणका लागि वि.सं. २०७४ वैशाख–५ गते प्रदेश सरकार र उपभोक्ता समितिबीच सम्झौता भएको थियो ।

    नुनथलामा निर्माणाधीन गुम्बा योजनाको काममा अनियमितता भएपछि अलपत्र परेको वडाअध्यक्ष भगेश्वर राईले बताए ।

    “प्रदेश र स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण योजनाको काम शुरु भएको गरिएको थियो ।

    निर्माण उपभोक्ता समितिमार्फत काम थालिएको योजनामा हिसाब गडबडी भएको थाहा पाएपछि प्रदेशले बजेट बन्द ग¥यो”, उनले भने , “जगमात्र ठड्याइएको योजनाको काम अहिले पूर्णरुपमा बन्द छ ।

    अलपत्र यो योजना पूरा गर्नका लागि पहल गर्न वडामा आएको बजेटले सम्भावना छैन ।थप बजेट माग्नका लागि पनि अनियमितता भएको विषयले बाटो बन्द भएको छ ।”

    गुम्बा निर्माण योजनाका लागि पहिलो चरणमा प्रदेश सरकारबाट आएको रकम पूरा काम नगरी फरफारक गरेर हिँडेपछि निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश तामाङ सम्पर्कविहीन बनेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

    गुम्बा निर्माणमा आएको राज्यकोषको काम नै नगरी फरफारक गरेर योजना नै अलपत्र पार्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरुको माग छ ।

    उता, उपभोक्ता समितिका अध्यक्ष तामाङले भने, प्रदेश सरकारबाट खटिएका इन्जिनियरले गरेको स्टिमेट अनुसार नै आफूहरुले गुम्बा निर्माणको काम गरेको दाबी गरे ।

    “तोकिएको काम हामीले सम्पन्न गरेका छौँ । कसले के भन्छ, त्यो हामीलाई सरोकार भएन”, उनले भने, “पछिल्लो समय रकम अभावका कारण निर्माणाधीन गुम्बाको काम रोकिएको छ ।

    सरकारबाट बजेट प्राप्त नभएको खण्डमा चन्दा सङ्कलन गरेर भए पनि निर्माण सम्पन्न गर्ने योजनामा छौँ ।” निर्माणको चरणमै उपभोक्ता समितिका कारण गम्बा अलपत्र बनेपछि स्थानीय बासिन्दासमेत आक्रोशित बनेका छन् ।

    निर्माणाधीन गुम्बा अलपत्र पार्ने व्यक्तिलाई सम्बन्धित निकायले समेत कारबाहीको दायरामा ल्याउन चासो नदिएको उनीहरुको आरोप छ ।

    बौद्ध धर्मावलम्बीको जन्म तथा मृत्यु संस्कार गर्न, विवाह गर्न र बौद्ध शिक्षा दिने प्रयोजनका लागि गुम्बा निर्माण शुरु गरिएको उपभोक्ता समितिले जनाएको थियो ।

    गुम्बा निर्माणका लागि गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मेनुका तामाङ (राई) ले १ रोपनी ७ आना १ पैसा ३ दाम जग्गा निःशुल्क उपलव्ध गराएकी हुन।

    बहुउद्देश्यसहित निर्माण शुरु गरिएको सुविधा सम्पन्न गुम्बामा बौद्ध धर्मसँग सम्बन्धित १०८ वटा मुर्ति राख्ने योजना बनाइएको थियो ।

    यस्तै, बौद्ध धर्ममा माटोको मुर्ति पवित्र हुने धार्मिक मान्यता अनुसार गुम्बामा माटोको १०० वटा तथा पित्तल र ढलौटको अन्य मूर्ति राखिने बताइएको थियो ।

    पर्यटकीयस्थल नुनथलास्थित संसारीडाँडामा निर्माण हुने गुम्बाबाट नाङ्गो आँखाले सर्वोच्च शिखर सगरमाथासहितका उच्च हिमश्रृंखलाका साथै तराईका समथर भू–भागको दृश्यसमेत अवलोकन गर्न सकिन्छ ।

    नुनथलामा गुम्बा बनेपछि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको थियो ।

    प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - ०७:२०:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको