खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ स्थित नितु स्मृति प्रतिष्ठान नेपाल तथा इमानसिंह सोमलछी राई शिक्षा पुरस्कार अक्षय कोषले शुक्रवार पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरेको छ ।
प्रतिष्ठानको १८ औँ तथा अक्षय कोषको सातौं साधारण सभाका अवशरमा बाम्राङका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा प्रतिष्ठानका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको हो ।
बाम्राङभित्र रहेका विद्यालयका उत्कृष्ट ९ विद्यार्थीलाई नगद पुरस्कार, विभिन्न अक्तिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई स्टेशनरी वितरण तथा प्रतिष्ठानका पाँच जनालाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको नितु स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष तथा इमानसिंह सोमलछी राई शिक्षा पुरस्कार अक्षय कोष कोषाध्यक्ष लिला बहादुर खत्रीले जानकारी दिए ।
पुरस्कृत हुनेहरुमा सावित्रा माविबाट एसइईमा उत्कृष्ट अंक ल्याउने असिमा भण्डारीलाई ८ हजार, सावित्रा मावि कक्षा (६–८) का उत्कृष्ट विद्यार्थी सोदिप राईलाई ३ हजार, कक्षा (१–५) का विद्यार्थी अकृति राईलाई २ हजार नगदका साथमा स्टेस्नरी सामग्री प्रदान गरिएको हो ।
यस्तै, सुर्केडाँडा आवि कक्षा (६–८) का उत्कृष्ट विद्यार्थी सुस्मिता परियारलाई ३ हजार, कक्षा (१–५) का विद्यार्थी आयुप्ता कट्वाललाई २ हजार, सिद्देश्वरी आवि कक्षा (१–५) का उत्कृष्ट विद्यार्थी यारीस राईलाई २ हजार र जनता आवि कक्षा (१–५) का अनुप राईलाई २ हजार बसन्त आवि कक्षा (१–५) की अन्जना कटवाल लाई २ हजार र बालविकास आवि कक्षा (१–५) की निर्जला राईलाई २ हजार नगदका साथमा स्टेस्नरी सामग्री प्रदान गरिएको हो ।
यस्तै, विद्यालयमा गरिएका वक्तृत्वकला, हाजिरीजवाफ, हिसावदौड, इनआउट, बेलुन फुटाई प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थीलाई स्टेस्नरी सामग्रीले पुरस्कृत गरेको प्रतिष्ठानका अध्यक्ष खत्रीको भनाइछ ।
यस्तै, यसै कार्यक्रमका अवशरमा प्रतिष्ठान तथा शिक्षाको विकासमा योगदान पु¥याए वापत पाँच जनालाई पाँच जना शिक्षाप्रेमीलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा प्रतिष्ठानका पूर्वअध्यक्ष प्रकाश राई र महेन्द्र बहादुर राई, पूर्व उपाध्यक्ष शेरबहादुर राई, पूर्व सचिव रामप्रसाद राई, सदस्य शिवनारायण श्रेष्ठलाई सम्मान गरिएको प्रतिष्ठानका सचिव टंकप्रसाद भण्डारीले जानकारी दिए ।
वि.स.२०६३ सालमा स्थापित प्रतिष्ठानले स्थापना कालदेखि नै बाम्राङका सम्पूर्ण विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै आएको छ ।
यो संस्था २ लाख ७५ हजार रुपैंयाबाट सुरु गरिएको थियो भने इमानसिंह सोमलछी राई शिक्षा पुरस्कार अक्षय कोष वि.स २०७४ सालमा स्थापना भएको हो ।
यस अक्षय कोष ३ लाख २५ हजार रुपैंयाबाट सुरु गरिएको छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यले स्थापना भएका यी दुबै संस्थाले सामुहिक रुपमा कार्यक्रम गर्दै आएका छन् ।