खोटाङ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले बाढीले बगाएको फोक्सिङ्टार पुल तथा सडकको निरीक्षण गरेका छन् ।अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले फोक्सिङटारमा निर्माण भएको मोटरेबल पुल बगाएपछि गाइघाट–दिक्तेल सडक कार्यालयका प्राविधिकको टोलीसहित बिहीवार फोक्सिङ्टार पुगेका मन्त्री राईले पुल तथा सडकको अवस्थाको स्थलगत निरीक्षण गरेका हुन् ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल असोज १२ गते आएको बाढीले बगाएको थियो ।
खोटाङ र उदयपुर जिल्ला जोड्ने फोक्सिङटार पुल बाढीले बगाएपछि तराईका जिल्लाबाट खोटाङ आवतजावत गर्न कठिन भएको छ ।
खोटाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित मन्त्री राईले निरीक्षणपछि गाईघाट–रसुवाघाट–दिक्तेलसम्मको सडकको मर्मत तथा सरसफाइ गर्न, सडक तत्काल मर्मत गरेर गाईघाट–रसुवाघाट र दिक्तेल–रसुवाघाटसम्म वारीपारी सवारी साधन सञ्चालन गर्न, कोशीको पानीको बहाब घट्ना साथ बेलिब्रिज जडान गरी खोटाङबाट सिधा यातायात सञ्चालन गर्न र निर्माण व्यवसायीले पुल निर्माण सम्पन्न गरेर राज्यलाई जिम्मा लगाउन बाँकी नै रहेको अवस्थामा पुल बगाएकाले सोही निर्माण कम्पनीलाई पुनः पुल बनाउन निर्देशन दिइएको मन्त्रीका स्वकीय सचिव अमृत गिरीले जानकारी दिए ।
बाढीले बगाएको मोटररेबल पुल चाँडोभन्दा चाँडो पुनःनिर्माण गर्नका लागि संघीय सरकारसँग समन्वय गरेर अघि बढ्ने मन्त्री राईको भनाईछ ।
खोटाङ्गे जनताको दैनिकीसँग जोडिएको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार पुल बाढीले बगाएपछि पूर्वी तराईका जिल्लाहरुसँगको सिधा यातायात सेवा विच्छेद भएको छ ।
ठेकेदार कम्पनी गौरी–पार्वती–वाईपी जेभीले २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी २०६९ चैत २३ गते सम्झौता गरेको ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल सम्पन्न गर्नका लागि सडकदेखि सदनसम्म चौतर्फी दबाब दिँदा उक्त पुल बन्न दश वर्ष लागेको थियो । तर, दुई वर्ष पनि उपयोग गर्न नपाउँदै बाढीले बगाएपछि खोटाङ्गेको समस्या ज्यूँका–त्यूँ भएको छ ।
पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा २२ करोड ६७ लाख ११ हजारको लागतमा २०७९ मा निर्माण गरिएको ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल १२० मिटर लामो थियो ।