खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका कृषकलाई सुधारिएको गोठ निर्माणका लागि जस्ता प्रदान गरिएको छ ।
क्रिस्चियन एड नेपालको सहयोगमा बाल सेवा समाज नेपाल, नेर्पाद्धारा सञ्चालित शसक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता (वि–फिल) परियोजना अन्तरगत अजम्बरी कृषक समूहमा आवद्ध १९ किसानलाई सुधारिएको गोठ निर्माणका लागि जस्ता प्रदान गरिएको हो ।
दिगो भू–व्यवस्थापनमार्फत कृषि उत्पादकत्व बृद्धि गर्दै कृषकको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र परियोजनाकै सहकार्यमा सुधारिएको गोठ निर्माण गरिरहेका कृषकलाई छाना हाल्नेबेला आवश्यक जस्ता प्रदान गरिएको परियोजनाका प्रबन्धक युवराज रिजालले जानकारी दिए ।
सुधारिएको गोठ निर्माण गरिरहेका किसानलाई शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले किसानलाई प्रतिघर २० पातका दरले ६ फुटे जस्ता हस्तान्तरण गरेका छन् । गोठ सुधार कार्यक्रम अन्तरगत सोल्मामा ढलानमाथि फलामे ट्रस ठड्याएर मुत्र संकलन ट्यांकी सहितको दिगो गोठ निर्माण भइरहेको छ ।
नगरपालिकाले सिमेन्ट तथा परियोजनाले ट्रस र जस्ता उपलव्ध गराएपछि १९ किसानले सुधारिएको गोठ बनाउन सुरु गरेका हुन् । एउटा गोठ निर्माण गर्दा नगरपालिका, परियोजना र किसानको ६५ हजार खर्च भएको छ । गोठ निर्माणका लागि किसानलाई प्रतिव्यक्ति २९ हजार बराबरको ट्रस प्रदान गरिएको परियोजना प्रवन्धक रिजालले बताए ।
सुधारिएको गोठ निर्माणकाक्रममा किसानलाई ७ लाख ९५ हजाको ट्रस र जस्ता उपलव्ध गराइएको छ । सोल्मामा कुल १२ लाख ३५ हजारमा गोठ सुधारको कार्यक्रम पुरा हुने वालसेवा समाजले जनाएको छ । सोल्मामा करोडौंको लगानीमा कम्पोष्ट मल प्लाण्ट तथा बायोग्याँस प्लाण्ट तयार पारिए लगत्तै गोठ सुधारको कार्यक्रम सञ्चालन गरिएको हो ।
‘दिगो भू–व्यवस्थापनका माध्ययमबाट कृषि उत्पादन र उत्पादकत्व बृद्धि गरी कृषकको जीवनस्तर सुधार गर्दै अत्मनिर्भतातर्फ उन्मुख गराउने हाम्रो लक्ष्य हो,’ प्रवन्धक रिजालले भने, ‘समृद्ध नगर निर्माणमा नगरपालिकालाई सहयोग पुर्याउन र कम्पोष्ट मल प्रवर्धनमार्फत अर्गानिक कृषि उत्पादनमा टेवा पुर्याउन यो कार्यक्रम सञ्चालन गरिएको हो ।’ गोठ सुधार कार्यक्रमले सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल प्लाण्ट सञ्चालनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा पनि गोठ सुधारको कार्यक्रम सञ्चालन भइरहेको छ । तीन वडामा ५० वटा सुधारिएको गोठ निर्माण गरेर किसानलाई हस्तान्तरण गर्ने कार्यक्रम अन्तिम चरणमा पुगेको प्रवन्धक रिजालले बताए ।