विराटनगर । कोशी प्रदेश सरकारले गत असोज ११ र १२ गते भएको अविरल वर्षाले भएको क्षतिको पुनर्निर्माण र सर्मतसम्भार गर्नका लागि मर्मत तथा पुनर्निर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने भएको छ ।
कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण भएको क्षतिको पुनःनिर्माण र सर्मतसम्भारका लागि मर्मत तथा पुनःनिर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले कटौती गर्न नमिल्ने रकम बाहेक अन्य शीर्षकबाट कोषमा बजेट व्यवस्थापन गरिएको बताए ।
यो कोषमा प्रदेशका मन्त्रीले १० दिनको पारिश्रमिक जम्मा गर्ने भएका छन् । मन्त्री अधिकारीले भने, प्रदेशसभा सदस्यहरूलाई समेत सहयोग गर्न सम्बन्धित संसदीय दलमार्फत आह्वान गर्ने, नागरिक समाज, संघ संस्थाहरू र नागरिकलाई समेत आग्रह गर्ने सरकारले तयारी गरेको छ । तत्कालै काम अघि बढाउन तीन महिनामा गर्ने र दीर्घकालीन रूपमा गर्नेको पुनर्निर्माणको काम वर्गीकरण गरिने बताए ।बाढी पहिरोको कारण कोशी प्रदेशमा सडक, पुल, सिँचाइ, भवन, विद्यालय गरेर ४ अर्ब रुपैयाँ बढीको क्षति भएको थियो ।
मन्त्री परिषद्ले प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम उच्च प्राथमिकता साथ कार्यान्वयन गर्ने र प्रदेश सिँचाइ नियमावली २०८१ लाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।