देउसीको दान क्यान्सर पीडित पत्रकारलाई

देउसीको दान क्यान्सर पीडित पत्रकारलाई

रोदिक खबर

५, मंसिर २०८१
  • 3.2K
    SHARES
  • देउसीको दान क्यान्सर पीडित पत्रकारलाई

    धरान । नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाइमा धरानका केही पत्रकार तथा मजदुर नेताहरुले खेलेको देउसी कार्यक्रमबाट उठेको दक्षिणा मध्ये ६५ हजार क्यान्सर पीडित सञ्चारकर्मी स्नेहा श्रेष्ठको उपचारका लागि प्रदान गरिएको छ ।

    बुधबार नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई र मजदुर नेता तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले क्यान्सर पीडित पत्रकार श्रेष्ठलाई घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।

    ब्रेस्ट क्यान्सरबाट पीडित श्रेष्ठको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकोछ ।

    उनको मंसिर ९ गते शल्यक्रिया हुँदैछ । उनको उपचारमा सहयोग होस भन्ने उदेश्यले सहयोग प्रदान गरिएको फोटो पत्रकार महासंघ सुनसरी अध्यक्ष विकास चाम्लिङ राईले बताए।

    २०८१ को तिहारमा देउसी खेलेर प्राप्त दक्षिणा मध्ये पत्रकार श्रेष्ठ सहित मुखको क्यान्सर पीडित भानुचोकमा भारी बोक्ने काम गर्ने स्टेण्ड मजदुर बुद्ध ठटाललाई १० हजार र मृगौला पीडित इटहरीका पत्रकार पीबी दियालीलाई १० हजार प्रदान गरिने अध्यक्ष राईे बताए ।

    नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाइमा भएको देउसी कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी, प्रेस चौतारी नेपाल धरान नगर कमिटी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए ।

    विगत एक दशकदेखि यही समुहले देउसी खेलेर प्राप्त दक्षिणाबाट साहित्यकार श्री सुब्बाको कृति प्रकाशन, स्पाइनलकर्ड इन्जुरी भएका यातायात मजदुर पून्य प्याकुरेल घर निर्माण अभियानमा सहयोग, पत्रिकाका हकर ज्ञानबहादुर माझीको घर निर्माणमा सहयोग, एकल महिला जानुका बिकको घर निर्माणमा सहयोग गरिएको थियो ।

    प्रकाशित मिति :मंसिर ५, २०८१ बुधवार - २०:१७:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको