हलेसीमा महिला फुटबल प्रतियोगिता शुरू : आयोजक र प्रगतिशील सेवा समाज विजयी

हलेसीमा महिला फुटबल प्रतियोगिता शुरू : आयोजक र प्रगतिशील सेवा समाज विजयी

रोदिक खबर

८, मंसिर २०८१
  • 3.3K
    SHARES
  • हलेसीमा महिला फुटबल प्रतियोगिता शुरू : आयोजक र प्रगतिशील सेवा समाज विजयी

    खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा आयोजक र प्रगतिशील सेवा समाज बाहुनीडाँडाले विजयी यात्रा शुरुवात् गरेका छन् ।

    त्रिधार्मिकस्थल हलेसीस्थित ‘बशाहाथान खेलमैदान’ भएको पहिलो खेलमा साकेला सिली समूह सल्लेलाई १ का विरुद्ध दुई गोल तथा दोस्रो खेलमा कात्तिके युवा क्लब (केवाइसी) हलेसीलाई शुन्यका विरुद्ध तीन गोल गर्दै आयोजक र प्रगतिशील सेवा समाज बाहुनीडाँडाले विजयी यात्रा शुरुवात् गरेको हो ।

    आयोजकलाई प्रतियोगितामा विजयी गराउन जर्सी नं. ७ का खेलाडी रिम्स मगर एक्लैले दुई गोल गर्न सफल भएको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले बताए।

    खेलको पहिलो हाफमा सल्लेका खेलाडी जर्सी नं. ११ की वीणा राईले एक गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए पनि दोस्रो हाफको बाँकी खेलमा कुनै पनि खेलाडीले गोल गर्न नसक्दा सल्लेले हार व्यहोर्नु परेको थियो ।

    IMG-20241123-WA0011.jpgसमूह चरणको खेलमा गोलरहित विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको प्रगतिशील सेवा समाज बाहुनीडाँडाकाका लागि समूह चरणको खेलमा जर्सी नं. ९ की खेलाडी चाहना राईले दुई तथा जर्सी नं. १० की विपना राईले एक गोल गरेका थिए ।

    पहिलो र दोस्रो हाफको दुवै खेलमा केवाइसीका कुनै पनि खेलाडीले गोल गर्न नसक्दा केवाइसी प्रतियोगिताबाटै बाहिरिएको जनाइएको छ ।

    प्रतियोगिताको तेस्रो खेल भोलि (आइतबार) बिहान ७ः०० बजेबाट शुरु गरिने आयोजकले जनाएको छ । समूह चरण अन्तरगत हुने तेस्रो खेलमा सरस्वती माध्यमिक विद्यालय अर्खौले र पद्मा स्पोर्टस् क्लब ओखलढुङ्गा तथा चौथो खेल हलेसी तुवाचुङ नष्रपालिका–७ महादेवस्थान (ए) र रिनेबल फुटबल क्लब ओखलढुङ्गाबीच हुने खेल प्रशिक्षक कसजूले जानकारी दिए।

    लैङ्गिक हिङ्साविरूद्धको १६ दिने अभियानको अवसरमा पारेर नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न जिल्लाका १६ टोलीले सहभागिता जनाएका छन् । नगरपालिकाले पहिलो पटक महिला खेलाडीका लागि फुटबल प्रतियोगिता आयोजना गरेपछि खेलाडीहरु उत्साहित भएका छन् ।

    ‘मेरो गोल, लैङ्गिक हिंसाविरूद्धको बोल’ नारासहित आयोजना गरिएको खुला महिला फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले उद्घाटन गरेका थिए ।

    प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले खेल क्षेत्रको विकासमा प्रदेश सरकार गम्भीर रहेको बताए ।

    Screenshot_20241123_210110_Chrome.jpgमङ्सिर–१० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीलाई नगद एक लाख दश हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

    उपविजेताले ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । सेमिफाइनलिस्ट दुई समूहलाई प्रति समूह २२ हजार २२२ सहित प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

    यस्तै, विद्यागततर्फ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद एक हजार ५५५ तथा विद्यागततर्फ कै अन्य खेलाडीलाई जनसमु/ एक हजार १११ का दरले नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।

    हलेसीमा आयोजित महिला फुटबल प्रतियोगिताको पुरस्कार राशि जिल्लामा आयोजित यसअघिका प्रतियोगिताको पुरस्कार राशिभन्दा सर्वाधिक भएको दावी गरिएको छ।

    हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा नगरपालिकाले पहिलो पटक खुला महिला फुटबल प्रतियोगिता आयोजना गरेपछि त्रिधार्मिकस्थल हलेसीको व्यापार÷व्यवसायसमेत वृद्धि भएको व्यवसायीहरुले बताएका छन् ।

    लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको अवसरमा आयोजित महिला फुटबल प्रतियोगितासँगै महिला जनप्रतिनिधिका लागि म्युजिकल चियर प्रतियोगितासमेत आयोजना गरिएको नगर प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

    दुवै प्रतियोगिता समापनको अवसरमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको सहभागितामा विविध साँस्कृतिक कार्यक्रमसमेत आयोजना गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर ८, २०८१ शनिवार - २१:०६:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको