उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार

उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार

रोदिक खबर

२०, मंसिर २०८१
  • 2.7K
    SHARES
  • उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिहरुलाई बाँसको कुर्सी उपहार दिने भएको छ । आगामी फागुन १५ गतेदेखि १७ गतेसम्म दिक्तेलमा मनाईने प्रथम राष्ट्रिय बाँस सम्मेलनको अवसरमा कुर्सी उपहार दिने भएको हो ।

    राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश, राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखलाई एक–एक थान बाँसको कुर्सी उपहार दिने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए। बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामाग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न÷गराउन घचघचाउने लक्ष्यले बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको नगरप्रमुख भट्टराईको भनाई छ ।

    उच्च पदस्थ व्यक्तिहरुलाई बाँसको कुर्सी उपहार दिने भनेर मंसिर १३ गतेको कार्यपालिका बैठकले निर्णय गरेको थियो । उच्च पदस्थ व्यक्तिहरुलाई उपहार स्वरुप दिने बाँसको कुर्सी मंसिर २८ गतेदेखि नेर्पामा बनाउन सुरु गरिनेछ।

    कुर्सी बनाउने क्रममा सुरक्षा संवेदनशीलता तथा कुनै कानूनी समस्या भएमा सुरक्षा संयन्त्र परिचालन गरी सहजीकरण गर्ने वातावरण मिलाईदिन नगरप्रमुख भट्टराईले आग्रह गरेका छन् । प्रत्येक वडाबाट बाँससँग काम गर्ने १५ जना विज्ञ व्यक्तिहरु वडाले छनोट गर्ने र नगरबाट प्रोत्साहित गरेर छनोट भएका व्यक्तिहरुले सम्मेलनमा प्रदर्शनी गर्न र उच्च पदस्थ व्यक्तिहरुलाई उपहार दिने बाँसको कुर्सी बनाउने छन्।

    ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नाराका साथमा मनाईने बाँस सम्मेलनले बाँसको संरक्षण, व्यवस्थापन, दीगो उपयोग र उद्यमशीलता विकास गरी प्राकृतिक संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा बृद्धि गरी संमृद्ध पालिका र राष्ट्र बनाउने उद्देश्य राखिएको छ ।

    उक्त नगरपालिकाका नगरप्रमुख भट्टराई र उपप्रमुख विसन राईले निर्वाचित हुनासाथ कार्यकक्षमा बाँसबाट निर्मित कुर्सी र बाँसको फर्निचरहरु प्रयोग गर्दै आएका छन् । नगरभित्र अत्याधिक मात्रामा मलिवास, धेरै मात्रामा ढुङग्रे र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङ्गो बाँस, सिगानो बाँस, निगालो बाँस, मुक्तियाली लगायतका १३ किसिमका बाँस पाईने गरेको छ।

    प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - १६:५६:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको