खोटाङ । खोटाङको एक विद्यालयमा पूर्वविद्यार्थीले पानी प्रशोधण गर्ने उपकरण जडान दिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको सरस्वती माध्यमिक विद्यालयबाट २०५० सालमा एसएलसी उतिर्ण गरेका विद्यार्थीहरुले सरस्वती मावि दिक्तेलमा शुद्ध पिउने पानी प्रशोधण गर्ने उपकरण जडान गरिदिएका हुन् ।
सो विद्यालयबाट २०५० सालमा एसएलसी उतीर्ण गरेका ४३ जना विद्यार्थीले ६ लाख बजेटमा शुद्ध पिउने पानी प्रशोधण गर्ने उपकरण जडान गरिदिएको विद्यालयका प्रधानाध्यापक शिवहरी ढकालले जानकारी दिए । उक्त पानी प्रशोधण गर्ने उपकरणको शुक्रवार एक कार्यक्रमकाबीच कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका हुन् ।
विद्यालबयको छतमा दुई हजार लिटर क्षमताको एक वटा रिर्जभ ट्याङकी, एक हजार लिटर क्षमताको एकवटा फिल्टर ट्याङ्क, प्लान्ट र उपकरण जडान गरिएको छ । प्रसारण लाइनमार्फत आवश्यकता अनुसार विद्यालय परिसरमा पाँचवटा धारा जडान गरेर पानी चालू गरिएको छ ।
शुद्ध खानेपानी प्रशोधन उपकरण उद्घाटन कार्यक्रमकै अवसरमा २०५० सालदेखि हालसम्म उक्त विद्यालयमा कार्यरत सात जना प्रधानाध्यापक र २०५० सालमा अध्यापन गराउनुहुने शिक्षकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको पूर्वविधार्थी जितेन्द्र राईले बताए । राईका अनुसार शिक्षक भवकृष्ण ढकाल, मन्दत्त राई र मोहन राजभण्डारीलाई मरणपरान्त सम्मान गरिएको छ ।
उच्च शिक्षासँगै भविष्य खोज्दै विद्यालयबाट वाहिर गएपनि विद्यालयप्रतिको माया र वाल्यकालमा खेपेको खानेपानीको समस्यालाई ध्यानमा राखेर हाललाई खानेपानीको प्राथमिकता देखिएकाले शुद्ध पिउने पानी प्रशोधन गर्ने उपकरण जडान गरिएको पूर्वविद्यार्थी इन्द्र कसजुले बताए ।
फेसबुकमा ग्रुप च्याट बनाएर छलफल गरी जितेन्द्र राईको अध्यक्षतामा समिति बनाई विद्यालयमा पानी प्रशोधन गर्ने उपकरण खरीदका लागि सहयोग संकलन गरिएको थियो । समितिमा राजु बस्नेत सचिव र दधिराम ढकाल कोषाध्यक्ष रहेका थिए । पानी प्रशोधन उपकरण खरिदका लागि पूर्वविद्यार्थीहरुले न्युनतम पाँच हजारदेखि एक लाखसम्म सहयोग गरेका थिए ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख एवंम् नगर शिक्षा समिति संयोजक तीर्थराज भट्टराई र प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयको पनि उपस्थिति थियो । उक्त विद्यालयमा कक्षा १ देखि १२ कक्षासम्म एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन् ।