शुक्रवार, भाद्र २६ गते २०८३

पत्रकार महासंघको भवन बनाउने बजेट विनियोजन गर्छुः मन्त्री राई

पत्रकार महासंघको भवन बनाउने बजेट विनियोजन गर्छुः मन्त्री राई

रोदिक खबर

३०, मंसिर २०८१
  • 2.9K
    SHARES
  • पत्रकार महासंघको भवन बनाउने बजेट विनियोजन गर्छुः मन्त्री राई

    खोटाङ, ३० मंसिर । भौतिक पूर्वाधार विकास, स्वास्थ्य मन्त्री भूपेन्द्र राईले नेपाल पत्रकार महासंघ शाखा खोटाङको भवन निर्माणका लागि बजेट विनियोजन गरिदिने प्रतिवद्धता जनाएका छन् । पत्रकार महासंघको नवनिर्वाचित समितिलाई आइतवार बधाई तथा शुभकामना दिँदै मन्त्री राईले सकभर चालु आर्थिक वर्षभित्र नभए आगामी आर्थिक वर्ष पत्रकार महासंघको भवन निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिदिने प्रतिवद्धता जनाएका हुन् ।

    बधाई तथा शुभकामना प्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखाका नवनिर्वाचित अध्यक्ष हरिबोल आचार्यले भवन निर्माणका लागि बजेट व्यवस्थाको माग गर्दै मन्त्री राईलाई ध्यानकर्षण–पत्र बुझाएका थिए । ध्यानकर्षण–पत्र बुझेपछि मन्त्री राईले सकभर यही वर्ष बहुवर्षेमा पार्न कोसिस गर्ने नभए आगामी वर्ष भवन पूर्ण हुनेगरी बजेट व्यवस्थापन गरिदिने प्रतिवद्धता जनाएका हुन् । अन्य जिल्लामा पत्रकार महासंघले आफ्नै भवनमा कार्यक्रम गर्ने गरेकोमा खोटाङमा भवन नहुनु दुःखद भएको मन्त्री राईको भनाई थियो ।

    पत्रकार महासंघ खोटाङ शाखाको भवन निर्माणका लागि कृषिविज्ञ मदन राईले वि.सं. २०६३ सालमा दिक्तेलस्थित रत्नपार्क नजिकै आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईले उपलब्ध गराएको जग्गामा यसअघि ढुङ्गा/माटोको कच्ची भवन निर्माण गरिए पनि उपयोगविहीन भएको थियो ।

    लामो समय उपयोगविहीन बनेको पत्रकार महासंघको भवन भत्काएर पक्की भवन निर्माणको काम शुरु गरिएको पत्रकार महासंघ खोटाङ शाखाका निवर्तमान अध्यक्ष दिलीप खत्रीले बताए । निवर्तमान अध्यक्ष खत्रीका अनुसार पत्रकार महासंघको पक्की भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर घडेरी सम्याउने काम सम्पन्न गरिएको छ ।

    पत्रकार महासंघको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा आफ्नै नाममा भएपनि बजेट अभावका कारण पक्की भवन निर्माण गर्न नसकिएको हो । भवन निर्माणका लागि चालु आर्थिक वर्ष प्रदेशबाट २० लाख विनियोजन भएको छ । वि.सं. २०६१ सालमा स्थापना भएको पत्रकार महासंघ खोटाङ शाखाको कार्यालय अहिले भाडाको घरमा सञ्चालन भइरहेको छ ।

    प्रकाशित मिति :मंसिर ३०, २०८१ आइतवार - २०:३२:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको