शुक्रवार, भाद्र २६ गते २०८३

किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु

किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु

रोदिक खबर

३०, मंसिर २०८१
  • 2.6K
    SHARES
  • किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु

    खोटाङ, ३० मङ्सिर । किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आइतबारदेखि शुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उँभौली साकेला चाड मनाउने गरेका छन् । १५ दिनसम्म मनाइने उँधौली साकेला चाडको अवसर पारेर जिल्लाका किरात समुदायले आफ्नो समुदायको ऐतिहासिकतासँग जोडिएका ठाउँ तथा पर्यटकीयस्थलहरुमा तीन चुल्हाको पूजाआजासहित साकेला सिली प्रर्दशनका छन् ।

    किरात समुदायको उद्गमस्थल मानिने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायाजुङका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी, रुपाकोटगढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ लगायतका साकेला थानहरुमा साकेला सिली प्रदर्शन तथा तीन चेल्हाको पूजा गर्ने चलन छ ।

    उँधौलीको चाडको पहिलो दिन आज (आइतबार) जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार नजिकै रहेको मझुवागढीमा तीन चुल्हाको पूजाआजा गर्नुका साथै बृहत् साकेला सिली प्रदर्शनीको आयोजना गरिएको मझुवागढी संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष बवि चाम्लिङले जानकारी दिए ।

    किरात ऐतिहासिकस्थल मझुवागढीमा आयोजित बृहत साकेला सिली प्रदर्शनी कार्यक्रममा गैर किरात समुदायका युवायुवतीको समेत उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । वर्षको दुई पटक मनाइने साकेला चाडको उँधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ ।

    कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामल लगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात राईहरुले बताएका छन् । उँधौली र उँभौलीमा किराँत राईहरुको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ ।

    462575009_895897002625041_4263354814906391388_n.jpgछितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी लगायत किराँती मौलिक भेषभुषामा सजिएर हरेक किराँत राईहरुको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदायमात्र नभई गैरकिराँत समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् ।

    चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल/झ्याम्टाको तालमा सुम्निमा र पारुहाङ (किराती पुर्खाहरु)ले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको जनाइएको छ । साकेला उँधौली तथा उँभौली किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उँधौली १५ तथा उँभौली महिना दिनसम्म मान्ने गरेका छन् ।

    साकेला उँधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायतका किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ ।

    अन्नबाली लगाउने समय अर्थात वैशाखे पूर्णिमादेखि उँभौली र अन्न भित्र्याउने बेला अर्थात मङ्सिरे पूर्णिमादेखि उँधौली चाड मनाउने चलन छ । साकेला उँधौलीको अवसर पारेर नेपाल सरकार, गृह मन्त्रालयले आइतबार एक दिन सार्वजनिक विदासमेत दिएको छ । किरात समुदायको उँधौली साकेला, योमरी पुन्हि–ज्यापू दिवस (धान्य पूर्णिमा)को अवसरमा सरकारले सार्वजनिक दिएको हो ।

    प्रकाशित मिति :मंसिर ३०, २०८१ आइतवार - २१:१८:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको