शुक्रवार, भाद्र २६ गते २०८३

बालकोटमा बुबा र भाइ मार्ने मिलनद्वारा महाराजगन्ज प्रहरीमा आत्मसमर्पण, हत्या गरेको स्वीकारे

बालकोटमा बुबा र भाइ मार्ने मिलनद्वारा महाराजगन्ज प्रहरीमा आत्मसमर्पण, हत्या गरेको स्वीकारे

रोदिक खबर

९, पौष २०८१
  • 2.6K
    SHARES
  • बालकोटमा बुबा र भाइ मार्ने मिलनद्वारा महाराजगन्ज प्रहरीमा आत्मसमर्पण, हत्या गरेको स्वीकारे

    काठमाडौं । बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य प्रहरी नियन्त्रमा परेका छन् । भक्तपुरको सूर्य विनायक नगरपालिका–२, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या कूलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको प्रहरीले आशंकासहित प्रहरीले उनको खोजी गरिरहेको थियो ।

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका छोरा २२ वर्षका प्रवीण आचार्य बालकोटमा मृत फेला परेका थिए । कोठाभित्र उनीहरूको शव फेला परे पनि सँगै बसेका जेठा छोरा २५ वर्षका मिलन आचार्य भने ढोकामा चाबी लगाएर बाहिरिएका थिए । उनी शनिबार राति साढे ३ बजेतिर स्कुटरमा बाहिरिएको सीसीटीभी फुटेजमा देखिएको थियो ।

    मिलनले सोमबार बिहान भने आफैँ प्रहरी कार्यालयमा गएर बाबु र भाइको हत्या गरेको बयान दिएका छन । प्रहरी वृत्त महाराजगन्जमा पुगेका मिलनले बाबु र भाइको हत्या गरेर आफू पनि आत्महत्या गर्ने सोचले घटना गरेको बताएका छन् । आइतबार आत्महत्याका लागि भक्तपुरको बिरुवा भन्ने ठाउँमा पुगेको र सलको पासो लगाएर मर्ने प्रयास गरेको उनले बताएका छन् । उनको घाँटीमा पनि चोट रहेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ ।

    ‘भक्तपुरको बिरुवा भन्ने ठाउँमा गएर रुखमा झुण्डिएको तर सल चुँडिएको बयान दिएका छन् । उनको घाँटीमा पनि चोट लागेको देखिन्छ । हामी यसलाई थप पुष्टि गर्ने प्रयासमा छौँ’, अनुसन्धान अधिकारीले भने । ‘बुबा पनि डिप्रेसनको बिरामी हुनुहुन्थ्यो । भाइ पनि खासै नपढ्ने कुलतमा लागे जस्तो थियो । आफू पनि ६ पटक लोकसेवाको परीक्षा दिएँ । कहिले सुब्बा कहिले खरिदार तर पास हुन सकिनँ ।

    आफ्ना कारण पनि परिवारलाई तनाव भयो जस्तो लाग्यो । मैले पनि केही गर्न सकिनँ । यो भन्दा त बाबुलाई पनि मुक्ति दिँदा ठिक हुन्छ भनेर मार्ने निर्णय गरेको हुँ’, उनले प्रारम्भिक सोधपुछमा भनेका छन्, ‘बाबु र भाइलाई मारेपछि म पनि मर्छु भनेर यो सबै गरेको हुँ । कुनै झगडा परेर हत्या गरेको होइन ।’

    शनिबार बेलुका तीन बाबुछोरा सँगै खाना खाएर सुतेका थिए । बालकोटमा दुई वटा कोठा लिएर मिलन र प्रविण बस्थे । उनीहरु दुवै जना पढ्न बसेका थिए । मिलन लोकसेवाको तयारी गरिरहेका थिए । ६ पटक उनले परीक्षा पनि दिइसकेका थिए । प्रविण विज्ञान संकायमा स्नातक पढ्थे । एकसाता अघि कुलप्रसाद पनि काठमाडौँ आएका थिए । जिल्ला हुलाक कार्यालय दिक्तेलमा कार्यरत नायव सुब्बा कुलप्रसाद निमित्त कार्यालय प्रमुख पनि हुन् ।

    बुढेसकालमै भएपनि स्कुटरको लाइसेन्स बनाउन र हुलाक विभागमा काम छ भन्दै उनी काठमाडौँ आएका थिए । गत शुक्रबारसम्म पनि कार्यालयका कर्मचारीहरुसँग कुरा हुँदा विभागमै पुगेको बताएका थिए । शनिबार बेलुका दुईछोरासँगै खाना खाएको सँगै रहेको अर्को कोठामा बस्ने मानिसले देखेको बताएका छन् । तर आइतबार बिहान उनीहरुको कोठामा ताला लगाइएको थियो । आइतबार दिनभर ताला खुलेन । सोमबार पनि ताला नखुलेपछि अर्को कोठामा रहेकाहरुले प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरी पुगेर ताला फोडेर हेर्दा भित्र दुवै जना मृत फेला परेका थिए । कुलप्रसाद एउटा कोठामा र प्रविण अर्को कोठामा मृत भेटिएका थिए । उनीहरुको हत्या गरिएको निस्कर्षमा प्रहरी सुरुमै पुगेको थियो । सँगै रहेका जेठा छोरा फरार रहेपछि हत्यामा उनकै संलग्नता रहेको प्रहरीको आशंका थियो । प्रहरीले आशंका गरेजस्तै मिलनले सोमबार भने प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण पनि गरेका हुन् । अब उनलाई जिल्ला अदालत भक्तपुरबाट हिरासतमा राख्न अनुमति लिएर थप अनुसन्धान गर्ने भक्तपुरका प्रहरी प्रमुख एसपी माधव बुढाथोकीले बताए ।

    प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - १४:५०:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको