खोटाङ, २९ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मुन्धुम अन्तर्राष्ट्रिय कला संग्रहालय स्थापना गरेको छ । गत वर्ष दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको नगरपालिकाले रत्नपार्कस्थित चिल्ड्रेनपार्क तथा सपिङ कम्प्लेक्समा मुन्धुम अन्तर्राष्ट्रिय कला संग्रहालय स्थापना गरेको हो । कला संग्रहालय सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेका हुन् ।
नगरपालिकाले २०८० असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । सो चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित १४ देशका ४३ चित्रकारले १०६ थान चित्र तयार पारेका थिए । त्यही चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी कलाकारले बनाएको तथा अन्य चित्रकारले तयार पारेको क्यानभासलाई समावेश गरेर नगरपालिकाले २०८० फागुन ५ गतेदेखि फागुन १७ गतेसम्म नेपाल कला परिषद, बबरमहल, काठमाडौंमा चित्रकला प्रदर्शनी आयोजना गरेको थियो ।
दिक्तेलमा तयार पारेर काठमाडौंमा लगेर प्रदर्शनमा राखिएपछि पुःन दिक्तेलमा ल्याइएका क्यान्भासलाई राखेर मुन्धुम अन्तर्राष्ट्रिय कला संग्रहालय स्थापना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
हाललाई चिल्ड्रेनपार्क तथा सपिङ कम्प्लेक्सको पाँच वटा कोठामा १८२ थान चित्र राखेर कला संग्रहालय स्थापना गरिएको हो । जिल्लाको पर्यटन प्रवद्र्धन सँगै कला, साहित्य र मौलिक संस्कृतिको जगेर्ना गर्नका लागि कला संग्रहालय स्थापना गरिएको नगरप्रमुख भट्टराईले बताए ।
