दिक्तेलमा माघ ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

दिक्तेलमा माघ ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

रोदिक खबर

६, माघ २०८१
  • 2.1K
    SHARES
  • दिक्तेलमा माघ ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

    खोटाङ, ६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नगरपालिकाले शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति माध्यमिक विद्यालय सोल्मासँगको सहकार्यमा माघ–११ गतेबाट दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको हो । प्रतियोगितामा नगरपालिकाभित्रका २४ माध्यमिक विद्यालयका विद्यार्थीले सहभागिता जनाउने छन् ।

    माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दो गरि पाँच विद्या तथा ४९ इभेन्टमा ९८ स्वर्ण, ९८ रजत र १२२ रजतगरी ३१८ पदकका लागि प्रतिस्पर्धा गराइने आयोजकले जानकारी दिएको छ ।

    चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी विद्यार्थीलाई पदक र प्रमाणपत्र, प्रत्येक विद्यामा विजयी विद्यालयलाई ट्रफी र प्रमाणपत्र तथा समग्रमा प्रथम हुने विद्यालयलाई रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।प्रतियोगितामा सहभागी विद्यालयलाई खेल सामग्री तथा यातायात भाडाका लागि आवश्यक बजेटको व्यवस्था गरिएको आयोजकले आज (आइतबार) पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

    प्रतियोगिताका लागि नगरपालिकाको दश लाख तथा सहआयोजकको तीन लाख ७४ हजार १५० गरि जम्मा १३ लाख ७४ हजार १५० खर्च हुने अनुमान गरिएको नगर शिक्षा शाखाका सुवासचन्द्र राईले जानकारी दिए ।

    प्रतियोगितामा सहभागी हुने विद्यालयले यही माघ–९ गतेभित्र आफ्ना विद्यालय तथा खेलाडी विद्यार्थीको नाम दर्ता गरिसक्नुपर्ने जनाइएको छ । कक्षा–१२ सम्मका विद्यार्थी सहभागी हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने विद्यार्थीको उमेर १८ वर्ष ननाघेको हुनुपर्ने सहआयोजक जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमकुमार राईले जानकारी दिए ।

    अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको औपचारिक उद्घाटन माघ–११ गते नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्ने जनाइएको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आयोजना हुने प्रतियोगिताको समापन माघ–१४ गते कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ ले शुभम् फाउण्डेशनको प्राङ्गणमा गर्नु हुने कार्यतालिका सार्वजनिक गरिएको छ ।

    अन्तर माध्यमिक विद्यालयस्तरीय प्रतियोगितामा छनोट भएका विद्यार्थीले नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वडा रहेको) यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तेस्रो पटक अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न लागेको हो ।

    जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी विद्यार्थीले प्रदेश तथा राष्ट्रियस्तरको १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालन हुने नवौँ जिल्लास्तरीय प्रतियोगिताको मिति भने, अहिलेसम्म टुङ्गो लागेको छैन ।

    नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाका दशवटै स्थानीय तहले धमाधम पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिरहेका छन् । खोटेहाङ गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाले भने, यसअघि नै सम्पन्न गरिसकेका छन् ।

    प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - १९:२९:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको