कोशी प्रदेशभित्रका सबै सरकारी अस्पतालको ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन गर्न स्वास्थ्य मन्त्री राईको निर्देशन

कोशी प्रदेशभित्रका सबै सरकारी अस्पतालको ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन गर्न स्वास्थ्य मन्त्री राईको निर्देशन

रोदिक खबर

८, माघ २०८१
  • 4.3K
    SHARES
  • कोशी प्रदेशभित्रका सबै सरकारी अस्पतालको ओपीडी सेवा  दुई सिफ्टमा सञ्चालन गर्न स्वास्थ्य मन्त्री राईको निर्देशन

    खोटाङ । कोशी प्रदेश सरकार मातहतका सबै सरकारी अस्पतालको ओपीडी सेवा दुई चरणमा सञ्चालन गर्न स्वास्थ्य मन्त्री भुपेन्द्र राईले निर्देशन दिएका छन् ।

    प्रदेशका १४ जिल्ला अस्पताल र प्रादेशिक अस्पतालहरूको ओपीडी सेवा बुधबारदेखि दुई चरणमा सञ्चालन गर्न निर्देशन दिएको कोशी प्रदेश स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

    अस्पतालबाट प्रवाह गर्ने सेवाको गुणस्तर सुधार गर्ने र बिरामीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले ओपीडी सेवा दुई सिफ्टमा बुधबारदेखि सञ्चालनमा आउने भएको हो ।

    प्रदेशको सबै सरकारी अस्पतालहरूमा बिहान ९ देखि ३ बजेसम्म ओपीडी टिकट काट्ने व्यवस्था मिलाएको कोशी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    बहिरङ्ग सेवा बिहान १० देखि २ बजेसम्म एउटा सिफ्ट र २ देखि ५ बजेसम्म अर्को सिफ्ट सञ्चालन गर्न कोशी प्रदेशका स्वास्थ्यमन्त्री राईले निर्देशन दिएका छन् ।

    सोही अनुसार स्वास्थ्य मन्त्रालयले १४ वटा जिल्ला अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, कटारी अस्पताल उदयपुरलाई मंगलबार वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईँले पत्राचार गरेका छन् ।

    यसअघि सरकारी अस्पतालहरूमा १ बजेसम्म मात्रै ओपीडि सेवा सुरु हुने गरेको थियो । त्यसपछि ओपीडी सेवा बन्द हुने र १ बजेपछि आउने बिरामीले निजी हस्पिटलमा चर्को शुल्क तिरेर बिरामीले स्वास्थ्य उपचार गराउनुपर्ने बाध्यता रहेको थियो ।

    प्रदेश भित्रका बिरामीहरूले गुणस्तरीय स्वास्थ्य उपचार पाउने उद्देश्यले दुई सिफ्टमा ओपीडि सेवा सुरु गरिएको कोशी प्रदेशका स्वास्थ्य मन्त्री राईले बताए ।

    ‘प्रदेश मातहतका सबै सरकारी अस्पतालहरूको ओपीडी सेवा अब ५ बजेसम्म सञ्चालन हुनेछ ।

    कोही पनि अस्पताल आएका बिरामी स्वास्थ्य उपचारबाट वञ्चित हुने छैन,’ मन्त्री राईले भने, ‘प्रदेशभित्रका सबै सरकारी अस्पतालहरूमा अब पाँच बजेसम्म ओपीडि सेवा पाउनेछन् ।’ यसलाई कडाइको साथ कार्यान्वयनमा लैजान निर्देशन दिएको उनले बताए । 

    मन्त्री राईले  कोशी प्रदेशका नागरिकलाई अस्पतालहरूमा गई सरकारले उपलब्ध गराएको सेवा लिन आग्रह गरेका छन् ।

    IMG-20250121-WA0016.jpg

    प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - २१:०४:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको