खोटाङ । खोटाङको रसुवाघाटदेखि धाप्लाङघाट जोड्ने सडक विस्तारका लागि स्थलगत अनुगमन गरिएको छ।
फोक्सिङटार र धाप्लाङघाटको बिचमा सडकको ट्र्याक खोल्न कोशी प्रदेशका भौतिक पूर्वाधार विकास,स्वस्थ्य मन्त्री भुपेन्द्र राईको नेतृत्वमा शनिबार पूर्वाधार कार्यालय उदयपुरका प्राविधिकसहितको टोलिले नौ किलोमीटर पैदल यात्रा गर्दै स्थलगत अनुगमन गरेको हो ।
सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल असोज १२ गतेको बाढीले बगाएपछि दीर्घकालीन रूपमा समस्या समाधान गर्न यो सडक विस्तारको योजना अघि बढाउन स्थलगत अनुगमन गरिएको मन्त्रीका प्रमुख स्वकीय अमृत गिरीले जानकारी दिए ।
पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने प्रमुख मार्गका रूपमा रहेकोे दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी रूपमा जडान गरिएको बेलिब्रिजले केहि समय सुविधा पुर्याए पनि दिगो समस्या समाधानका लागि खोटाङकै भूगोलबाट नयाँ सडक निर्माण गर्न लागिएको मन्त्री राईको भनाई छ ।