खोटाङ, १४ माघ । लगातार तीन पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी भएपछि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले रनिङ शिल्ड आफ्नै बनाएको छ । केपिलासगढी गाउँपालिकाले गत माघ ११ गतेदेखि पृथ्वी माविको प्राङ्गणमा आयोजना गरेको तेश्रो अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेश्रो पटक पनि विजयी भएपछि पृथ्वी माविले शिल्ड पच गरेको हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७०, पाँचौ संशोधन २०८० अनुसार लगातार तीन पटकसम्म रनिङ शिल्ड प्रतियोगितामा विजयी हुनेले सो शिल्ड सधैका लागि राख्न पाउने छन् ।
सोमबार सम्पन्न प्रतियोगितामा कराते र तेक्वान्दोसहित २६ स्वर्ण, २१ रजत २५ कास्य पदकस पृथ्वी माविले उपाधि जितेको हो । ८ स्वर्ण, ३ रजत, १ कास्य पदकसहित शुक्रजित माविले द्धितीय स्थान प्राप्त गरेको छ भने ३ स्वर्ण, ६ रजत, १ कास्य जालपा मावि बाक्सिला तेश्रो स्थान प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा एथलेटिक्सतर्फ जालपा माविका छात्रा अस्मिता खत्री, शुक्रजित माविका छात्र सन्देश विक तथा भलिबलतर्फ शुक्रजित माविका छात्रा दिविशा राई र कुहुडाँडा माविका छात्र निशान राई उत्कृष्ट खेलाडी घोषित भए ।
विजयी खेलाडीहरुलाई केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, प्रमुख प्रशासकीय अधिकृत शौधन राई लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ९ वटा विद्यालयले सहभागिता जनाएको थियो ।