आगोले जलेको घाइते बोकेर काठमाडौं जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । माघ १६ गते राती खोटाङबाट घाइते बोकेर काठमाडौं जाँदै गरेको जीप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित भँडारे खोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा केपिलासगढी गाउँपालिका–३ बासपानीका ५६ वर्षकी मायाँदेबी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका–१२ जालपाका ४५ वर्षका तारा गुरुङको मृत्यु भएको हो ।
आगोले जल्दा गम्भीर घाइते भएकी मायाँदेबीलाई बोकेर काठमाडौं जाँदै गरेको ना. १ ज ६४२१ नम्बरको जीप सडकबाट करिब सय मिटर तल खस्दा तीन जनाको घट्नास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक मोहन पोखरेलले बताए ।
जीप चालक सुनसरी इनरुवा नगरपालिका–२ का २२ वर्षीय अनिल पण्डित फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आफन्तका अनुसार माघ १६ गते गाउँमा भएको मरौमा रक्सी तताउने क्रममा झुक्किएर बोत्तलमा राखिएको पेट्रोल तताउन पुग्दा मायाँदेबी जलेर गम्भीर घाइते भएकी थिईन् । उनलाई साँझ ५/६ बजेको समयमा जिल्ला अस्पताल पु¥याएका थिए । उनको दुबै खुट्टा जलेको थियो ।