खोटाङ, १८ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधाममा साथ मनाउन सुरु गरिएको छ ।
विभिन्न कार्यक्रम गर्दै माघ २१ गतेसम्म मनाइने वार्षिकोत्सव तथा अभिभावक दिवस माघ १८ गते कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले उद्घाटन गरेका छन् ।
वार्षिकोत्सव उद्घाटनको अवसरमा विद्यालयका संस्थापक, चन्दादाता, एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी लगायतलाई सम्मान गरिएको छ ।
विद्यालयले १०१ वर्षका हर्कलाल आचार्य, संस्थापक स्वर्गीय गजुरमान राई, १ लाख ११ हजार १११ रुपैयाँ चन्दा दिने तेजप्रसाद आचार्यलाई सम्मान गरेको छ ।
यस्तै, शिक्षक सेवाबाट सेवा निवृत्त भएका कृष्णप्रसाद आचार्य, बाल शिक्षिका बालकुमारी आचार्यलाई पनि सम्मान गरिएको छ ।
गत वर्षको एसइई परीक्षामा जिल्लामै उत्कृष्ट जिपिए ल्याएर उत्तिर्ण हुने हिमाञ्जली आचार्य, सपना ढकाल र एरिका रिजाललाई जनही एक हजारका साथमा सम्मान–पत्र प्रदान गरिएको छ ।
कशीरुपा अक्षयकोषबाट जनही एक हजारका दरले सात विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको छ । कार्यक्रममा विभिन्न नृत्य, संगिनी नाच, लाेकदाेहाेरी लगायत गतिविधि प्रस्तुत गरिएको थियोे ।
वार्षिकोत्सवको अवधिमा नगरस्तरिय एकल शिक्षक तथा कर्मचारी टेवल टेनिस, अन्तर माबि एकल छात्र टेवल टेनिस र अन्तर माबि हिज्जे प्रतियोगीता हुने प्रधानाध्यपक लक्ष्मीप्रसाद खनालले बताए ।
यस्तै, पुरुष अभिभावक र शिक्षकबिचमा फुटबल तथा महिला अभिभावकबीचमा म्यूजिकल चेयर प्रतियोगीता गर्ने तयारी गरिएको छ ।
२०२४ सालमा स्थापना गरिएको विद्यालयले गत वर्ष एसइईमा जिल्लामै उत्कृष्ट नजिता ल्याएको थियो । २०७५ र २०७६ सालमा पनि उत्कृष्ट नतिजा हासिल गरेको पञ्च माविले प्रदेश सामाजिक विकास मन्त्रालयबाट पुरस्कार प्राप्त गरेको थियो ।
प्रधानाध्यपक खनालले ‘कक्षा एक, प्रथम अनेक’ पद्धति कार्यान्वयन गर्ने, विद्यार्थीलाई महिनाको एक पटक सामाजिक कार्यमा लगाउने, विद्यार्थीको १०/१० वर्ष लक्ष्य डायरी निर्माण गरी सर्वेक्षण गर्ने लगायतका लक्ष्य तथा कार्यनीति पेश गरेका छन् ।
विद्यालयको शिक्षणलाई विद्यार्थीले कसरी लिएका छन्, शिक्षक स्वयंले आफ्नो शिक्षणलाई कसरी लिएकाछन् सो को सर्वेक्षण गर्ने, अभिभावकको नजरमा पञ्च माबि कार्यक्रम लागु गर्ने लगायतका बुँदा लक्ष्य तथा कार्यनीतिमा उल्लेख छ ।
विव्यास अध्यक्ष रामप्रसाद आचार्यले नीति तथा कार्यक्रम र शिक्षक अभिभावक संघका अध्यक्ष पर्शुराम बिकले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।