शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

खोटाङमा एक महिला र एक पुरुष जंगलमा मृत फेला

खोटाङमा एक महिला र एक पुरुष जंगलमा मृत फेला

रोदिक खबर

१४, फाल्गुण २०८१
  • 2.7K
    SHARES
  • खोटाङमा एक महिला र एक पुरुष जंगलमा  मृत फेला

    खोटाङ । खोटाङमा एक महिला र एक पुरुष जंगलमा मृत भेटिएका छन् । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएका हुन् । गाउँ नजिकै दारेगौडा जंगलमा दुवै जना मृत अवस्थामा भेटिएको बराहपोखरीका वडाध्यक्ष ढक बहादुर कार्कीले बताए ।

    डाँडागाउँका अन्दाजी २२/२३ वर्षीय सरिता बिष्ट बस्नेतको जंगलमा हत्या भएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष कार्कीको भनाइ छ । उक्त महिलाको घाँटीमा धारिलो हतियार प्रहार भएको जस्तो देखिएको छ ।

    सोही गाउँका अन्दाजी १९/२० वर्षका शिखर बस्नेत पनि सोही जंगलमा मृत भेटिएका छन् । महिलाको शव रहेको करिब २५ मिटर तल रुखमा झुण्डिएको अवस्थामा पुरुष मृत फेला परेका हुन् । मृत भेटिएकी महिला बिबाहित हुन् । उनको २ वर्षको छोरीसमेत रहेको बताइएको छ ।पुरुष भने अबिबाहित हुन् ।

    घटना कसरी घटेको भनेर खुल्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । स्थानीय प्रहरी चौकीले घटना स्थललाई सुरक्षित गरेर राखेको छ ।

    जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टको नेतृत्वमा जिल्लाबाट प्रहरी घटना स्थलमा जादैछ ।

    घटना स्थलमा पुगेर अनुसन्धान भएपछि थप कुरा थाहा हुने प्रनाउ बिष्टले बताए । मृत भेटिएका महिला र पुरुष दुवै जना जंगलमा घाँस काट्न गएका थिए ।

    धारिलो हतियार घाँटीमा प्रहार भएर मृत अवस्थामा भेटिएकी महिलाको कम्मरमा नाम्लोडोरीसमेत रहेको स्थानीयले बताएका छन् । शव नजिकै घाँस काट्न सुरु गरे जस्तो पनि देखिएको छ ।

    पुरुषले महिलाको हत्या गरेर आफुले आत्महत्या गरेजस्तो देखिए पनि घटनाको बिस्तृत खुल्न बाकी रहेको बताइएको छ ।

    प्रकाशित मिति :फाल्गुण १४, २०८१ बुधवार - १३:००:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको