दिक्तेललाई बाँसको केन्द्र बनाएर देशभर अभियान सञ्चालन गरिने : मन्त्री शाही

दिक्तेललाई बाँसको केन्द्र बनाएर देशभर अभियान सञ्चालन गरिने : मन्त्री शाही

रोदिक खबर

१५, फाल्गुण २०८१
  • 2.7K
    SHARES
  • दिक्तेललाई बाँसको केन्द्र बनाएर  देशभर अभियान सञ्चालन गरिने :  मन्त्री शाही

    खोटाङ, १५ फागुन । संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले दिक्तेललाई केन्द्र बनाएर बाँसको देशभर अभियान सञ्चालन गरिने बताएका छन् । खोटाङको दिक्तेलमा बिहीबार सुरु भएको प्रथम राष्ट्रिय बाँस सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले बाँस प्रयोगमा नीतिगत समस्या भएकाले आवश्यक नीति निर्माण तयार गरेर यो अभियान देशभर सञ्चालन गरिने बताएका हुन् ।

    बाँसबाट विभिन्न प्रकारका सामाग्री निर्माण गर्न सकिने उल्लेख गर्दै मन्त्री शाहीले स्थानीय स्तरमा उत्पादन भएका बाँसलाई उपयोगमा ल्याउन सकेमात्र जनताको जनजीविका जोड्न सकिने बताए ।

    नेपालमा ५३ प्रकारका भन्दा बढि बाँस पाइएपनि साना–साना कारणले समस्या भएकोले देशको आर्थिक समृद्धिसँग जोड्न नसकिएको बताए । यो सम्मेलनले स्थानीय तहदेखि केन्द्रसम्म फलदायी हुने बताउदै मन्त्री शाहीले आफ्नो मन्त्रालयमा पनि बाँसजन्य फर्निचरका सामाग्रीहरु प्रयोग गर्ने बताएका छन् ।

    नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय, प्रतिनिधि सभा सदस्य गणेश पराजुली, पूर्व मन्त्री गणेश साह, पूर्व वन तथा वातावरण राज्यमन्त्री शिवकुमार बस्नेत, बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई (पिके), कोशी प्रदेशका  पर्यटन, वन तथा वातावरण मन्त्री षडानन्द मण्डल, संविधान सभा सदस्य विशाल भट्टराई, पूर्व सांसद कुलप्रसाद फुयल, गभर्नर महाप्रसाद अधिकारी, संघीय वन तथा वातावरण मन्त्रलयका सचिव दिपककुमार खराल, डा. रविन्द्रप्रसाद ढकाल, सम्पूर्ण दलहरुको तर्फबाट बिष्णुकुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    यस्तै, मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रहेको छ । आयोजकहरुमा वन तथा प्रशिक्षण केन्द्र ववरमहल, वन तथा वातवरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रियशन ललितपुर रहेका छन् । स्थानीय स्तरमा उपलब्ध बाँसको बहुआयामिक महत्व तथा उपयोगिता दर्शाउने लगायतका उद्देश्य राखी राष्ट्रिय बाँस सम्मेलनको आयोजना गरिएको हो ।

    बाँसको संरक्षण, व्यवस्थापन, दिगो उपयोग र उद्यमशीलता, प्रकृतिको संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा बृद्धि गरी समृद्ध स्थानीय तह, प्रदेश र राष्ट्र बनाउने सम्मेलनको मुख्य धेय रहेको नगरप्रमुख भट्टराईले जानकारी दिए ।

    “जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित तीन दिन सम्म सञ्चालन हुने राष्ट्रिय बाँस सम्मेलनको यलम्बर बाजा बजाउँदै मन्त्री शाहीले सम्मेलनको औपचारिकरुपमा उद्घाटन गरेका थिए । माटिकोरे खेलमैदानमा बाँसजन्य फर्निचरका विभिन्न स्टलहरु राखिएका छन् । आयोजकका अनुसार जिल्ला बाहिरका २८ र जिल्लाभित्रका २३ वटा स्टलहरु रहेका छन् । स्टल राख्न बाँसकै खम्बा र चित्रा प्रयोग गरिएको छ । स्टल नजिकै बाँसकै लिङगे पीङ निर्माण गरिएको छ ।

    कार्यक्रमस्थलभन्दा अगाडी मुख्य मुख्य चोकमा बाँसको गेट, कार्यक्रमस्थलमा बाँसकै पोडिएम, बाँसको मान्द्रोको ब्यानर, बाँसकै मन्च, बाँसबाट बनेका कुर्सी, आराम कुर्सी, आकर्षक फर्निचर सामाग्रीहरु राखिएको छ । सम्मेलनभर जिल्ला बाहिरबाट बाँसजन्य क्षेत्रमा काम गरिरहेका ३०० जना विज्ञहरुको उपस्थिति रहने छ । सम्मेलन उद्घाटन अघि दिक्तेलबजारमा प्रभातफेरि निकालिएको थियो ।

    प्रकाशित मिति :फाल्गुण १५, २०८१ बिहिवार - २२:२७:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको