खोटाङ १७ फागुन । खोटाङको जिल्ला सदरमुकाम दिक्तेल बजारको बाकी सडक ढलानको काम सुरु भएको छ । सडक ढलानको काम अघि बढेसँगै कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले शनिबार अनुगमन गरेका छन् ।
शनिबार सडक अनुगमन गर्दै मन्त्री राईले समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशनसमेत दिएका छन् । सडक ढलान हुन बाकी रहेको त्रिवेणी चोकदेखि भानुचोकसम्मको सडक ढलानको काम अहिले धमाधम भइरहेको छ ।
खोटाङ प्रदेश सभा ख बाट निर्वाचित सांसद भुपेन्द्र राईले मन्त्री भए लगत्तै सडक ढलानको लागि आवश्यक बजेट व्यवस्थापन गरेपछि सडक ढलानको काम अघि बढेको हो । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत शहरी विकास तथा भवन कार्यालय ओखलढुंगामार्फत सडक ढलानको काम भइरहेको हो ।
१ करोड १९ लाख ६३ हजार ४८३ रुपैयाँमा फास्ट एण्ड फास्ट कन्टक्सन प्रालि निर्माण कम्पनीले सडक ढलानको जिम्मा लिएको छ ।
२०८१ साल फागुन ४ गते ठेक्का सम्झौता भएको सडक ढलानको काम २०८२ जेठ ३० गते भित्रमा सक्नु पर्नेछ । काम तिव्ररुपमा भइरहेकाले सम्झौता मिति भित्रै सडक ढलानको काम सम्पन्न हुने मन्त्री राईले बताए ।
दिक्तेल बजारको बाँकी रहेको सबै सडक ढलान हुन हालको बजेटले नपुग्ने भएकाले थप वजेट व्यवस्थापन गर्न मन्त्रालय लाग्ने मन्त्री राईकाे भनाई छ।
यस्तै, सडक ढलानको जिम्मा पाएका निर्माण व्यवसायी ध्रुव श्रेष्ठले सम्झौता मिति भन्दा अगाडि नै काम सम्पन्न गर्ने गरी लागिपरेको बताए ।
आगामी जेठ ३० गतेसम्म सम्झौता मिति भएपनि वैशाख भित्रै काम सम्पन्न गर्ने उनको भनाइ छ ।