खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा तीन दिने निःशुल्क आँखा जाँच शिविर सुरु भएको छ। बाक्सिलास्थित स्वास्थ्य चौकीमा सोमबारदेखि तीन दिनका लागि शिविर सुरु भएको हो।
नेपाल नेत्र ज्योति संघ जिल्ला कार्य समिति खोटाङको आयोजना, सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोग र गाउँपालिकाको बन्दोबस्तमा भएको शिविरको पहिलो दिन १६९ जना नागरिकले आँखा जाँच गराएका छन्।
शिविरमा १५ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ। १४० जनाले निःशुल्क आँखा सम्बन्धी रोगको औषधि लगेको र ८ जना ज्येष्ठ नागरिकले निशुल्क पावरवाला चस्मा लैजानु भएको नेत्र ज्योति संघ जिल्ला कार्य समिति खोटाङका सभापति इन्द्र कसजुले बताए।
शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल लाहानका मुख्य शल्यचिकित्सक दिवाकर चौधरीसहित १५ जना चिकित्सक बाक्सिला आएका छन्।
आफ्नै गाउँठाउँमा भएको शिविरबाट गाउँपालिकाभित्रका दृष्टिविहिन, न्यून दृष्टि र मोतिविन्दु भएका बिरामीहरुले लाभ लिईरहेको गाउँपालिका अध्यक्ष समिर राईले बताए।