खोटाङ २१ चैत्र । खोटाङको दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुललाई ‘आइएसओ’ लोगो प्रदान गरिएको छ । आगामी एक वर्षभित्र विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित विद्यालय बनाउने कार्यक्रम अन्र्तगत दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुललाई ‘आइएसओ’ लोगो प्रदान गरिएको हो ।
गुणस्तरिय तथा संस्कार सहितको शिक्षा प्रदान गर्ने लक्ष्यका साथ ग्लोबल क्वालिटी काउन्सिलका प्रतिनिधि सुदिप शर्माले एक कार्यक्रमकाबीच बुधवार दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुल सञ्चालक समितिका अध्यक्ष नुरकाजी सैंजु र प्रिन्सिपल धनकर्ण श्रेष्ठलाई ‘आइएसओ’ लोगो प्रदान गरेका हुन् । दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुल कोशी प्रदेशमै ‘आइएसओ’ लोगो लिने पहिलो संस्था बनेको छ ।
स्कुललाई वर्ष दिनभित्र ‘आइएसओ’को प्रमाण–पत्र प्रदान गर्नेगरि चैत १८ गते ग्लोबल क्वालिटी काउन्सिलका प्रतिनिधि शर्मा र दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल श्रेष्ठबीचमा सम्झौता गरिएको थियो । अन्तर्राष्ट्रिय गुणस्तर प्राप्तिका लागि बोर्डिङ स्कुलले ५० वटा सूचक पूरा गर्नेपर्ने ग्लोबल क्वालिटी काउन्सिलका प्रतिनिधि शर्माले बताए । २०४८ सालमा स्थापना गरिएको विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित विद्यालय बनाउनका लागि गत मंसिरबाटै काम सुरु गरिएको हो ।
लोगो हस्तान्तरण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, रणभीम गण मुढे व्यारेकका गणपति केदारप्रसाद लामिछाने, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्ट, शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख तीर्थबहादुर विक, दिक्तेल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हिराकुमार राई लगायतको उपस्थिति रहेको प्रिन्सिपल श्रेष्ठ जानकारी दिए ।