शुक्रवार, भाद्र २६ गते २०८३

सुम्निमा र पारुहाङको सालिक तोडफोडको घटनाप्रति गाउँपालिका प्रमुखद्धारा भर्त्सना

सुम्निमा र पारुहाङको सालिक तोडफोडको घटनाप्रति गाउँपालिका प्रमुखद्धारा भर्त्सना

रोदिक खबर

३१, चैत्र २०८१
  • 2.3K
    SHARES
  • सुम्निमा र पारुहाङको सालिक तोडफोडको घटनाप्रति गाउँपालिका प्रमुखद्धारा भर्त्सना

    खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिक–६ छितापोखरीको मैस्याङटारस्थित सुम्निमा–पारुहाङ पार्क (उद्यान)मा निर्माण गरिएको किराती पुर्खाहरु सुम्निमा र पारुहाङको सालिक तोडफोड भएको घटनाप्रति गाउँपालिकाले भत्र्सना गरेको छ ।

    गलत मनसायका साथ गएराति अज्ञात समूहले सुम्निमा र पारुहाङको सालिक तोडफोड गरेकोे भन्दै गाउँपालिका प्रमुख लोकेन्द्र राईले आज (शनिबार) विज्ञप्तिमार्फत भत्र्सना गरेका हुन् ।

    गाउँपालिकाको मुख्य पर्यटकीयस्थलमध्यको रणनीतिक महत्वको क्षेत्रमा रहेको पार्कमा निर्मित सालिक तोडफोड भएको घटना निन्दनीय र निकृष्ट रहेको गाउँपालिका प्रमुख राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    अक्षम्य आपराधिक घटनाको गम्भीर अनुसन्धान गरी चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कानून बमोजिम कडाभन्दा कडा सजायको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकार्षण गराइएको छ ।

    किराती पुर्खाहरुको सालिक तोडफोड गर्नेलाई पक्राउ गर्न खोटाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जानकारी दिइसकेको समेत गाउँपालिका प्रमुख राईले बताए ।

    पर्यटकीयस्थल मैस्याङटारमा आगामी वैशाख–१ गते साकेला सिली प्रदर्शनी कार्यक्रम राखिएपछि सालिक तोडफोड भएको हुनसक्ने बताइएको छ ।

    पर्यटकीयस्थल मैस्याङटार क्षेत्रलाई केन्द्रित गर्दै जिल्लाकै मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिका तथा प्रदेश सरकारले बजेटको समेत व्यवस्था गरिरहेको अवस्थामा उक्त घटना भएको विज्ञप्तिमा उल्लेख छ ।

    छितापोखरीको मैस्याङटारमा दुई वर्षअघि कोशी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त ४० लाख लगानीमा सुम्निमा र पारुहाङको सालिक निर्माण गरिएको थियो ।

    चारैतिर घना जङ्गलको बीचमा अग्लो डाँडामाथि हरिया चउर रहेको मैस्याङटारको प्रवद्र्धन थालिएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको थियो ।

    मैस्याङटारमा नयाँ वर्ष, दशैँतिहार, साकेला उँभौली–उँधौली र मङ्सिर लागेपछि आन्तरिक पर्यटकहरु पुग्ने गरेको स्थानीयवासीले बताएका छन् ।

    प्राकृतिकरुपमै सुन्दर एवम् पर्यटकीयस्थल रहेको मैस्याङटारमा यसअघि स्थानीय बासिन्दाहरु पिकनिक (वनभोज) जाने गरेका थिए ।

    करिब एक हजार १०० रोपनी क्षेत्रफल जमिन ओगटेको पर्यटकीयस्थल मैस्याङटारमा सुम्निमा र पारुहाङको साहितसँगै घुम्न आउने पर्यटकका लागि विभिन्न ठाउँमा बसेर रमिता हेर्न र आराम गर्न मिल्ने फलामका फलैंचाहरु बनाइसकिएको छ ।

    गाउँपालिका र प्रदेश सरकारको लगानीमा पर्यटन प्रवद्र्धनको काम शुरु भएसँगै घुमफिर तथा वरपरका दृश्यावलोकन गर्न बाह्य पर्यटकसमेत मैस्याङटार पुग्ने गरेका छन् ।

    आफन्त तथा इष्टमित्रलाई नयाँ ठाउँ घुमाउन परेपनि दिप्रुङ चुइचुम्मा गाउँपालिकाबासीको पहिलो रोजाइमा मैस्याङटार पर्ने गरेको छ ।

    सफा मौषम भएको समयमा मैस्याङटारबाट तराईका विभिन्न फाँट तथा सप्तकोशीस्थित भीमनगरको पुलसमेत देखिने स्थानीय बासिन्दाहरुले बताएका छन् ।

    मैस्याङटार पुग्न कच्ची सडक बनिसकेको छ । सडकबाट उत्तिस र सल्लाको जङ्गल पार गर्दै करिब १० मिनेट पैदल हिँडेपछि मैस्याङटार पुगिन्छ ।

    कुनै चाडपर्वको अवसरमा मैस्याङटार पुग्ने स्थानीय बासिन्दाले सडकमा पार्किङ गरेको सवारी साधनले सहरको झल्को दिने गरेको छ ।

    परापूर्वकालमा ‘महिलाले हलो जोत्नु हुँदैन’ भन्ने समयमा मैस्याङ नाम गरेकी तामाङ थरकी महिलाले खुकुरी भिरेर हलो जोतेर खेती गरेकाले सो डाँडाको नाम नै मैस्याङटार रहन पुगेको इतिहास छ ।

    मैस्याङ दिहुँबाट आएर सो स्थानमा खेतीपाती गर्दै बसेको स्थानीय गणेश कार्कीले बताए । मैस्याङटारको चौतर्फी विकास गर्न चार करोड ८८ लाखको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) निर्माण भएको जनाइएको छ ।

    प्रकाशित मिति :चैत्र ३१, २०८१ आइतवार - ०७:४१:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको