• ट्रेण्डिङ:

महुरे–फोक्सिङटार सडक कालोपत्रका लागि मन्त्री दाहालद्धारा शिलान्यास

महुरे–फोक्सिङटार सडक कालोपत्रका लागि मन्त्री दाहालद्धारा शिलान्यास

रोदिक खबर

५, जेठ २०८२
  • 2.7K
    SHARES
  • महुरे–फोक्सिङटार सडक कालोपत्रका लागि मन्त्री दाहालद्धारा शिलान्यास

    खोटाङ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको लागि शिलान्यास गरेका छन् ।

    तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले वि.सं. २०५१ सालमा शिलान्यास गरेको यो सडक कालोपत्रका लागि आइतबार मन्त्री दाहालले औपचारिकरुपमा शिलालेख अनावरण गर्दै कालोपत्रको लागि शिलान्यास गरेका हुन् ।

    दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि नेपाल सरकारले ८६ करोड बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए ।

    आयोजना प्रमुख ज्ञवालीका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रा.लि. धादिङले लिएको छ भने, दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्ट्रक्सन प्रा.लि. काठमाडौँले लिएको जनाइएको छ ।

    चार वर्षभित्र सम्पन्न गर्नेगरी दिव्यज्योति कन्ट्रक्सन प्रा.लि.ले ४२ करोड लागतमा सम्पन्न गर्नेगरी वि.सं. २०८१ चैत–१७ गते तथा रायमाझी कन्ट्रक्सन प्रा.लि.ले ४४ करोड लागतमा सम्पन्न गर्नेगरी वि.सं. २०८१ माघ–२ गते सम्झौता गरेको जनाइएको छ ।

    दुवै सडकखण्ड सडक आयोजना कार्यालयसँग सम्झौता गरेर कालोपत्रको काम थालिएको ठेकेदार कम्पनीहरुले जनाएका छन् ।

    फोक्सिङटारमा आयोजित सडक कालोपत्र शुभारम्म कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने यस सडक कालोपत्रको काम जिम्मेवार भएर समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

    “यो सडक तपाईहरुको व्यवसायिक काममात्र नभइ राज्यप्रतिको उत्तरदायित्व पनि हो । तपाईहरुले यो सडक कालोपत्रको काम समयमा सम्पन्न गर्नुहुनेछ ।

    यसका लागि आवश्यक बजेट मन्त्रालयले अभाव हुन दिने छैन्”, उनले भने, “कालोपत्र समयमा सम्पन्न गर्नका लागि जनस्तरबाट पनि खबरदारी आवश्यक छ । यो सडक दुई लेनको बन्ने छ । सडक बनाउनका लागि मन्त्रालय प्रतिवद्ध रहेको छ ।”

    मन्त्री दाहालले सुकोशीस्थित फोक्सिङटारको मोटररेबल पक्की पुल पुनः निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए । गत असोज–१२ गते आएको बाढीले बगाएको पक्की पुल निर्माण गर्न अर्थ मन्त्रालयले ३५ करोड बजेट सुनिश्चित गरिसकेको र आगामी डेढ वर्षभित्रै फोक्सिङटार पुल पुनः निर्माणको काम सम्पन्न हुने बताए ।

    फोक्सिङटार पुल खोटाङवासीको लाईफलाइनको रुपमा रहेकाले पनि पुल पुनः निर्माणमा मन्त्रालयको तर्फबाट कुनै कमीकमजोरी नहुने मन्त्री दाहालले प्रतिबद्धता जनाएका छन् । “फोक्सिङटार पुलमा यस भेगका नागरिकको भविष्य जोडिएको छ ।

    पुल छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर पुनः निर्माणको काम अगाडि बढाएको छ”, उनले भनेेे, “पुल बगाएपछि जनतामा नैराश्यता छाएको अवस्था छ ।

    प्रकृतिसँग जुध्न सक्छौं तर, प्रकृतिलाई परास्त गर्न सक्दैनौँ । तसर्थ हामीले प्रकृतिसँग मिलेर काम गर्न पर्नुपर्छ ।फोक्सिङटारको पुल प्राकृतिक, भौतिक र वातावरण सबै हिसाबले गहन अध्ययन गरेर निर्माण गर्छौँ ।”

    महुरे–फोक्सिङटार (४९ किलोमिटर लामो) सडक स्तरोन्नति तथा कालोपत्र शुभारम्भ कार्यक्रमका वक्ताहरुले कालोपत्रको कामलाई गुणस्तरीय बनाउन तथा छिटो सम्पन्न गराउनेतर्फ मन्त्रालयको ध्यानाकार्षण गराएका छन् । सगरमाथा लोकमार्गअन्तरगत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार सडक यसअघि पनि कालोपत्रको काम शुरु गरिएको थियो ।

    ठेकेदारको चरम लापरबाहीले समयमा कालोपत्रको काम सम्पन्न नभएपछि मन्त्रालयले ठेक्का तोडेर अर्को ठेकेदार कम्पनीसँग सम्झौतागरी पुनः कालोपत्रको काम शुरु गरेको हो ।

    चार वर्षभित्र सम्पन्न गर्नेगरी दुई भागमा विभाजन गरेर वि. सं २०७३ असार–३० गतेबाट कालोपत्र थालिएको सडक अहिले अलपत्र अवस्थामा छ ।

    महुरेदेखि राजापानीको सिम्पानीभञ्ज्याङसम्म (२२ किलोमिटर) सडक भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिम्पानीभञ्ज्याङदेखि फोक्सिङटारसम्मको (२६ किलोमिटर) सडकखण्ड कालोपत्रको काम देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले जिम्मा लिएको थियो ।

    शुरुदेखि नै काममा ढिलासुस्ती गर्दै आएको ठेकेदार कम्पनीले पछिल्लो समय पटक–पटक म्याद थपिएपनि काम नै नगरी हिँडेको स्थानीय बासिन्दाले बताएका छन् ।

    शिलान्यास गरेको ३१ वर्षमा पनि महुरे–फोक्सिङटार सडक कालोपत्र नहुँदा दिउँदको समयमा करिब छ महिनामात्र यातायात सञ्चालन हुँदै आएको छ ।

    प्रकाशित मिति :जेठ ५, २०८२ सोमवार - ०९:२६:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको