खोटाङ । जिल्ला अस्पताल खोटाङलाई १५ शय्याबाट ५० शय्याको अस्पताल बनाइने भएको छ। कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्री परिषद् बैठकले जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको बनाउने निर्णय गरेको स्वास्थ्य तथा भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले जानकारी दिए ।
१५ शय्यामा सञ्चालन भइरहेको जिल्ला अस्पताल खोटाङलाई संख्या बढाई स्वास्थ्य सेवा विस्तारलाई प्रभावकारी बनाउन मन्त्री राईले २०८२ वैशाख १ गते अस्पताललाई ५० शय्या बनाउँदै स्तरोन्नति गर्न मन्त्रीस्तरीय निर्णय गरी मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेका थिए।
प्रस्तावलाई कोशी प्रदेश सरकार मन्त्री परिषद्को बैठकले जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री राईले बताएका छन्।
कोशी प्रदेशकै विकट मानिने खोटाङ जिल्लामा १५ शय्याको मात्र अस्पताल संचालन हुँदा खोटाङवासीहरु उपचार गर्न काठमाडौं, विराटनगर, धरान लगायतका ठाउँमा जान बाध्य भएका थिए।
प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शय्याको बनाइने भएपछि जिल्लावासीलाई उपचारमा सहज हुने भएको छ।
१५ शय्याको अस्पताल सञ्चालन हुँदा आठौं तहको विशेषज्ञ डाक्टरसहित ३० जनाको दरबन्दी रहेको थियो। अस्पताल ५० शय्याको स्तरोन्नति भएसँगै ११ औं तहको विशेषज्ञ डाक्टर सहित ५९ जना स्वास्थ्यकर्मीहरूको दरबन्दी कायम गरिएको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार तत्काल दरबन्दी अनुसारका चिकित्सकसहितको टोली जिल्ला अस्पताल खोटाङमा पठाएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने जनाइएको छ।
जिल्ला अस्पताल ५० शय्याको भएसँगै सबै प्रकारका बिरामीहरूको उपचार सेवा सुरु गर्ने मन्त्री राईले बताए। उनले अब खोटाङवासीहरू उपचार नपाएर अकालमा मर्नुपर्ने दिनको अन्त्य गर्न १५ शय्याको जिल्ला अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाइएको बताए।
मन्त्री राईले तत्काल बाँकी २९ जना विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली जिल्ला अस्पताल पठाएर खोटाङवासीलाई स्वास्थ्य सेवा प्रदान गरिने बताएका छन्।