खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ७६९ जना बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्ष उमेर समूहका दुई हजार १०१ जना बालबालिकाले पूर्णखोप लगाएको पाइएपछि बुधबार नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको हो ।
नगरपालिकाको सभाहलमा आयोजित पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणासभामा जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेशकुमार तामाङले नियमित खोप लगाउने वडा नं. १० पाथेकाका जेनिस विश्वकर्मालाई पूर्णखोप लगाएको खोपकार्ड तथा सम्मानपत्र प्रदान गर्दै नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको हो ।
खोप कार्यक्रमबाट कोही वञ्चित भन्ने उद्देश्यले ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप निश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नेपाल सरकारले खोप कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याएको हो ।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणासभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख तामाङले कार्यक्रम सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए । “बालबालिकाको स्वास्थ्यमा सरकारले ठूलो लगानी गरेको छ । बालबालिकाका लागि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको खोप करोडौँ रकम खर्च गर्दा पनि पाउन सकिन्न”, उनले भने, “आफ्नो बालबच्चालाई स्वस्थ बनाउने पहिलो जिम्मा आमाबुबाको हो । यसमा सरकारले पनि सहयोग गरेको छ ।
निःशुल्क खोप कार्यक्रममा सहभागी भएको खण्डमा कोही पनि अस्वस्थ हुने छैन । त्यसैले नेपाल सरकारले लागू गरेको निःशुल्क खोप कार्यक्रमलाई सफल बनाउँदै स्वस्थ समाज बनाउने अभियानमा सबैको सहकार्य आवश्यक छ ।”
नगर खोप समन्वय समितिका अध्यक्ष एवम् नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख तामाङले नगरपालिकाभित्रका १५ वटै वडा कार्यालयलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्रसमेत प्रदान गरेका थिए ।
पूर्णखोप सुनिश्चितता घोषणासभामा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी लगायतले दिगोपनाका लागि तयार पारिएको प्रतिवद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।
पूर्णखोप सुनिश्चितता लागि सर्वेक्षण गर्दा विभिन्न वडाका पाँचजना बालबालिकाले शुरुमा खोप लगाएपनि बीचमा छुटाएको पाइएकाले उनीहरुलाई पनि छुटेका सबै खोप उपलब्ध गराइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिए ।
यस नगरपालिकामा ४५ वटा खोप केन्द्र निर्धारण गरेर नियमित खोप उपलब्ध गराउने गरिएको जनाइएको छ । चालु आर्थिक वर्ष सञ्चालन गरिएको पाठेघरको क्यान्सरविरुद्धको एच.पि.भि.खोप अभियानमा नगरपालिकाभित्रका दुई हजार ३१७ जना किशोरीलाई खोप उपलब्ध गराइएको समेत स्वास्थ्य शाखा प्रमुख आचार्यले जानकारी दिए ।
दश स्थानीय तह रहेको जिल्लामा रावाबेँसी र जन्तेढुङ्गा गाउँपालिका यसअघि नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित भइसकेका छन् । आगामी असार–१५ गतेभित्र पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने तयारी गरिएको जिल्ला खोप समन्वय समिति खोटाङका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए ।
नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।