जिल्ला अस्पतालको सामाजिक परीक्षण मस्यौदा प्रतिवेदन प्रस्तुत

जिल्ला अस्पतालको सामाजिक परीक्षण मस्यौदा प्रतिवेदन प्रस्तुत

रोदिक खबर

१६, जेठ २०८२
  • 2.4K
    SHARES
  • जिल्ला अस्पतालको सामाजिक परीक्षण मस्यौदा प्रतिवेदन प्रस्तुत

    खोटाङ । जिल्ला अस्पताल खोटाङको सामाजिक परीक्षणको मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको छ। अस्पतालबाट सञ्चालित स्वास्थ्य सेवा तथा प्रशासनिक कार्यहरुको पारदर्शिता, जवाफदेहिता र सेवाग्राहीहरुको सहभागितालाई अभिवृद्धि गर्ने उद्देश्यले अस्पताल स्थापनायताकै पहिलो पटक तयार पारिएको सामाजिक परीक्षणको मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको हो।

    जिल्ला अस्पतालको आयोजना, सामाजिक विकास तथा अनुसन्धान केन्द्र विराटनगरले तयार गरेको प्रतिवेदन शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापक पुकार चौधरीले प्रस्तुत गरेका थिए ।

    प्रस्तुत गरिएको प्रतिवेदनमा चालू आर्थिक वर्षको हालसम्मका कार्य प्रगति विवरण, सेवा प्रवाह, सेवाग्राहीहरुको अनुभव, अस्पतालको सेवाप्रति सेवाग्राही सन्तुष्ट, असन्तुष्ट, स्वास्थ्य सेवा सुधारका लागि सुझाव, अस्पताल परिसरमा टाँगिएका जानकारीमूलक सामाग्रीहरु लगायत प्रस्तुत गरिएको थियो।

    अस्पतालकोे सामाजिक परीक्षणको काम गत फागुनबाट थालिएको थियो। चालू आर्थिक वर्षभित्रै सामाजिक परीक्षणको सम्पूर्ण काम सकेर अन्तिम प्रतिवेदन अस्पताललाई बुझाईने पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापक चौधरीले बताए।

    चौधरीका अनुसार अस्पतालले दिएको विवरण बाहेक अन्य विषयहरुमा स्थलगत रुपमै सेवाग्राहीहरुसँग अलग–अलग अन्तर्वार्ता गरिएकोे थियो।

    अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष सनबहादुर राईको अध्यक्षतामा भएको प्रतिवेदन प्रस्तुत कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, प्रहरी नायब उपरिक्षक प्रतिक विष्ट, जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता महाप्रसाद खतिवडाले जानकारी दिए ।

    अस्पतालको सेवा प्रवाह सम्बन्धी भूमि समस्या समाधान आयोग खोटाङका अध्यक्ष निर्मल राई, नेकपा माओवादी केन्द्रका अध्यक्ष दीपक पाण्डे, नेकपा एमाले खोटाङका सचिव सुरेन्द्र कुमार राई, बालसेवा समाज नेर्पाकी अध्यक्ष चन्द्रकला भुजेल, वरिष्ठ पत्रकार कृष्ण आचार्य, पत्रकार डम्बरसिं राई, सविना अछामे, उजुर राई, पवन राई लगायतले गुनासो गरेका थिए।

    वक्ताहरुबाट आएका गुनासो तथा सुझावलाई मनन गर्दै अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष राईले बताए।

    १५ शैया अस्पतालको केही भवनहरु भत्काएर ५० शैयाको भवन बनाउनु पर्ने भएकाले पनि सेवा प्रवाहमा केही समस्या आएको र नयाँ भवनबाट सेवा प्रवाह सुरु भएपछि अहिलेको ५० प्रतिशत समस्या हल भएर जाने अध्यक्ष राईले बताए।

    अस्पताललाई हिजोका दिनमा भन्दा सुधार गरिएको र सामाजिक परीक्षणको रिपोर्टपछि अझ प्रभावकारी बनाउँदै जाने जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.रुपेश संग्रौलाले बताए।

    प्रकाशित मिति :जेठ १६, २०८२ शुक्रवार - २२:४४:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको