खोटाङ । खोटाङ जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा पर्ने दिखुवा खोलामा मोटरेबल पुल बन्ने भएको छ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा पर्ने दिखुवा खोलामा मोटरेबल पुल बन्ने पक्का भएको हो ।
दिखुवा खोलामा मोटरेबल पुल निर्माणको लागि शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शिलान्यास गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवा खोलामा मोटरेबल पुल नहुँदा बर्खामा सवारी साधान आवतजावत ठप्प हुने गरेको छ ।
दिखुवा खोलामा मोटरेबल पुल निर्माण गरेर सडकको स्तरोन्नति गर्ने हो भने दिक्तेलबाट पूर्वी तराईका जिल्ला आवजावत गर्न छोटो र सहज हुनेछ ।
प्रदेश सडक पुल सहयोग इकाई ईटहरी र कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय गाइघाटको साझेदारीमा दिखुवा खोलामा (ट्रष्ट ब्रिज) मोटरेबल पुल बन्न लागेको हो ।
पुल निर्माणको लागि करिब ५ करोड ५० लाख लाग्ने भौतिक पूर्वाधार विकास मन्त्रालयको अनुमान छ । ट्रष्ट ब्रिज निर्माणका लागि आवश्यक स्टिल ट्रष्ट प्रदेश सडक पुल सहयोग इकाई ईटहरीले उपलब्ध गराउने छ ।
उक्त पुलका लागि करिब २ करोड बढीको स्टिल ट्रष्ट तयार पारिसकिएको प्रदेश सडक पुल सहयोग इकाई ईटहरीका प्रमुख सुर्य नारायण चौधरीले बताए ।
शिलान्यासको दिन शनिबार नै केही स्टिल ट्रष्ट पुल निर्माण स्थलमा पुर्याइएको छ । बाकी क्रमश ल्याउने प्रमुख चौधरीको भनाइ छ ।
पुल निर्माणका अन्य पिल्लर निर्माण र ढलानको काम पूर्वाधार विकास कार्यालय गाइघाटमार्फत हुनेछ । उक्त कामको लागि भने टेण्डर खुलाउन बाकी रहेको मन्त्रालयले जनाएको छ ।
केही महिना भित्र टेण्डर फाइनल गरेर बाकी पुल निर्माणको काम सुरु हुने मन्त्रालका प्रदेश सचिव अशोक कुमार साहले बताए ।
गत फागुनबाट दिखुवा खोलामा पुल निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्री राईले पहल सुरु गरेका थिए । निर्माण स्थलको अध्ययन, डिजाइन र लागत अनुमान सकिएको र अब टेण्डर खुलाउन लागिएको मन्त्री राईले बताए ।
स्टिल ट्रष्ट भने जडान गरेर निर्माण स्थलमा ल्याउन थालिसकिएकाले अबको ६/७ महिना भित्रका दिखुवा खोलामा पुल निर्माण सम्पन्न हुने मन्त्री राईको भनाइ छ ।
कालोपत्रको काम भइसकेको दिक्तेल–महुरे २० किलोमिटर र कालोपत्रको काम भइरहेको महुरे–राजापानी–रेग्मीटार सडक २९ किलोमिटरगरी दिक्तेल–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ ।
निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको घर्तीभिरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट घर्तीभिरसम्म ट्रयाक खोलिएको छ ।
घर्तीभिरमा ठूलो चट्टान भएकाले हाल जोड्ने काम भइरहेको छ । निर्माणाधीन सडकलाई विकल्पका रूपमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायाता सञ्चालन गरिएको छ ।
दिखुवा खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएर दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने स्थानीय व्यवसायी बताउँछन् ।
पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले अब खोटाङमा विकासले फड्को मार्ने बताएका छन् ।जिल्लामा अब यस्ता पुल र सडकहरु धेरै बन्ने उनको भनाइ छ ।आजसम्म जिल्लाका नागरिकलाई सबैले झुक्याएकाले अब त्यो छुट कसैलाई नभएको मन्त्री राईको भनाइ छ ।