खोटाङ । खोटाङको दिक्तेलमा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न भएको हो ।
दिक्तेलस्थित मनिष होटलको सभा हलमा जेठ २९ गतेदेखि असार २ गते सम्म भएको तालिममा जिल्लाका २८ जनाको सहभागिता रहेको अपाङ्ग सेवा संघ खोटाङका सदस्य उमेशचन्द्र आचार्यले जानकारी दिए ।
सदस्य आचार्यका अनुसार उनीहरूलाई स्वरोजगारतर्फ अग्रसर गराउने उद्देश्यले गरिएको तालिममा मिक्स अचार, च्याउको अचार, आपको सर्वत, मेथिको अचार, आलु चिप्स, टमाटरको सस, फलफूलको जाम लगायतका सामग्री बनाउन सिकाइएको थियो ।
सहभागीहरूलाई अचार बनाउने विधि मात्र होइन, यसको पोषण, बजारिकरण र प्याकेजिङ सम्बन्धी आधारभूत ज्ञानसमेत प्रदान गरिएको सदस्य आचार्यको भनाइछ । तालिमको सहजीकरण हृदयराम पोखरेलले गरेका थिए । अचार बनाउने तालिम सकिएको दिन सहभागीहरूले बनाएका अचारहरू प्रर्दशन गरिएको थियो ।
अपाङ्ग सेवा संघ खोटाङका अध्यक्ष जयनारायण कटुवालको अध्यक्षतामा सोमवार सम्पन्न भएको तालिम समापन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्री, नेपाल पत्रकार महासंघ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, दोभाषे खोटाङका सहजकर्ता पुजा दाहाल लगायतको उपस्थिति रहेको जनाएको छ ।
