खोटाङ । भौतिक पूर्वाधारको विकास मन्त्रालय कोशी प्रदेशले खोटाङमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८२ करोड बढिको बजेट बिनियोजन गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले विनियोजन गरेको ८ अर्व ३३ करोड बजेट मध्ये खोटाङलाई भौतिक पूर्वाधारको क्षेत्रमा ८२ करोड २७ लाख ५० हजार बजेट बिनियोजन गरिएको भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईको सचिवालयले जनाएको छ । एक सय ५१ वटा योजना सञ्चालनका लागि उक्त बजेट बिनियोजन गरिएको जनाइएको छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आइतबार ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको भएपनि जिल्लागत बजेट भने बिहीवार सार्वजनिक गरेको हो ।
मन्त्री राईको पहलमा खोटाङमा भौतिक पूर्वाधार, स्वास्थ्य, खानेपानी, सिंचाई, पर्यटन लगायतका क्षेत्रमा गरी एक अर्व बढिको बजेट बिनियोजन गरिएको जनाइएको छ ।
बजेट अभावमा पछाडि परेको खोटाङमा यति धेरै बजेट आएपछि धेरै खोटाङवासीले योजनाको विवरण सामाजिक सञ्जालमा लगाएर खुशी व्यक्त गरिरहेका छन् ।