खोटाङ । खोटाङमा पहिलो पटक किराँत राईहरुको जिल्ला स्तरीय नछुङ (धामी) संरक्षण समिति गठन गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माका नछुङ धनिराम राईको अध्यक्षतामा ११ सदस्यीय नछुङ संरक्षण समिति गठन गरिएको हो।
शनिवार शुभम फाउण्डेसन सोल्मामा गठन गरिएको संरक्षण समितिको उपाध्यक्षमा नछुङ सुखराज राई, सचिवमा नछुङ तेज बहादुर राई, सह–सचिवमा नछुङ खड्ग यामसुहाङ र कोषाध्यक्षमा नछुङ स्तुति राई चयन भएका छन् । यस्तै, समितिको सदस्यहरुमा नछुङ मिकसन राई, नछुङ कुमार राई, नछुङ भिम बहादुर राई, नछुङ जित बहादुर राई, नछुङ सरहमान राई र नछुङ सन्जीव राई चयन भएका छन् ।
नछुङहरु दिन प्रतिदिन लोप हुँदै गएकाले नछुङहरुको संरक्षण गर्दै एकतामा बाध्न समिति गठन गरिएको नछुङ संरक्षण समिति खोटाङका अध्यक्ष नछुङ धनिराम राईले बताए ।
नछुङ संरक्षण समितिका केन्द्रीय संयोजक ढक बहादुर राईको प्रमुख आतिथ्यमा समिति गठन गरिएको हो। उक्त कार्यक्रममा किराँत राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, किरात साम्पाङ राई जुम्लेखा जिल्ला कार्य समिति खोटाङका अध्यक्ष प्रताप राई, किरात सभ्यता, संस्कृति तथा मुन्दुम संरक्षण केन्द्रका केन्द्रीय सदस्य संगीता राई लगायतको उपस्थिति थियो।
यसैवीच, सोही कार्यक्रमको अवसरमा किराँत सभ्यता, संस्कृति तथा मुन्दुम संरक्षण समिति पनि गठन गरिएको छ। समितिको अध्यक्षमा तिलक साम्पाङ किराँती, उपाध्यक्षमा डार्विन चाम्लिङ, सचिवमा उदिन चाम्लिङ राई, कोषाध्यक्षमा सुमन राई तथा दीपेन्द्र राई, कुष्णकुमार राई र सागर राई सदस्यमा चयन भएका हुन् ।