खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एसईई परीक्षामा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरेको छ । माध्यमिक शिक्षा परीक्षा एसईईमा नगर उत्कृष्ट हुने छात्र र छात्रालाई नगरपालिकाले ५०/५० हजार नगदसहित सम्मान गरेको हो ।
नगरस्तरीय सञ्चालन भएको कक्षा ४–९ सम्मको परीक्षामा पनि उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई नगरपालिकाले पुरस्कृत गरेको छ ।
शैक्षिक सत्र २०८१ को नगर प्रथम छात्रतर्फ ३.५३ जिपिएसहित लक्ष्मी माध्यमिक विद्यालय बडहरेका गणेस कुमार दाहाल भएका छन् ।
छात्रातर्फ लक्ष्मी माविकै दुर्गाकुमारी कट्वाल र सरस्वती मावि अर्खौलेको जेनिशा श्रेष्ठले समान ३.३१ जिपिए ल्याएर नगर प्रथम भएका छन् । उनीहरु तीनै जनालाई जनहि नगद ५० हजार पुरस्कार प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
यस्तै, नगर दोस्रो हुने च्यास्मिटार माविका सोमन राई र महेन्द्रोदय माविका स्वस्तिका राईलाई नगद २५ हजार प्रदान गरिएको छ ।
१२ वटा सामुदायिक माध्यमिक विद्यालय रहेको नगरपालिकामा सबै भन्दा धेरै ८८.८९ प्रतिशत विद्यार्थी एसईईमा उत्तिर्ण गराएर लक्ष्मी मावि बडहरे नगर प्रथम भएको छ ।
८३.३३ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएर कालिका मावि बाहुनीडाँडा दोस्रो र ७३.१५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएर महेन्द्रोदय मावि तेस्रो भएको छ ।
उनीहरुलाई क्रमश ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेश प्रसाद निरौलाले बताए ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले कक्षा ४–९ सम्मको वार्षिक परीक्षा पनि एसईई मोडेलमा नगर स्तरीय गराउदै आएको छ ।
शैक्षिक सत्र २०८१ को नगर स्तरीय परीक्षामा कक्षा प्रथम र दोस्रो हुने विद्यार्थी र पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई नगरपालिकाले नगद पुरस्कार प्रदान गरेको हो ।
कक्षा ४–९ सम्मका हरेक कक्षाको नगर प्रथम र दोस्रो हुने विद्यार्थीले १० हजार र ५ हजार नगद पुरस्कार पाएका छन् । प्राथमिक तह कक्षा ४–५ को नतिजा अनुसार नगर प्रथम बोझेओडार आवि बडहरे भएको छ ।
दोस्रो च्यास्मिटारस्थित कलङ्का आवि र तेस्रो पनि च्यास्मिटारकै देउराली आवि भएका छन् । उनीहरुले क्रमश ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
आधारभूत तह कक्षा ६–८ को समग्र विद्यार्थीको नतिजा अनुसार बडहरेस्थित शान्ति आवि नगर प्रथम भएको छ । मालिकादेवी मावि बाहुनीडाँडा दोस्रो र बुलापन्थे मावि धितुङ तेस्रो भएको छ ।
उनीहरुले क्रमश ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै, माध्यमिक तह कक्षा ९ को नतिजा अनुसार सबै भन्दा धेरै विद्यार्थी उत्तिर्ण गराएर दुर्छिम मावि नगर प्रथम भएको छ । डिकुवास्थित दाम्ली मावि दोस्रोहुँदा बाहुनीडाँडाको मालिकादेवी मावि तेस्रो भएको छ ।
उनीहरुले क्रमश ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाएका छन् । नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ ।
मावि स्तरीय हाजिरी जवाफमा प्रथम, दोस्रो र तेस्रो भएका सरस्वती मावि, बुलापन्थे मावि र च्यास्मिटार माविले क्रमश ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाएका छन् ।
यस्तै, आधारभूततर्फ पनि सरस्वती मावि नै प्रथम भएको छ । बुलापन्थे मावि दोस्रोहुँदा देउराली आवि तेस्रो भएको छ । उनीहरुले क्रमश ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै, सरस्वती मावि, मालिकादेवी मावि, पिपलडाँडा देविस्थिान माविलाई नगरपालिकाले स्मार्टबोर्ड प्रदान गरेको छ । यस्तै, सोही कार्यक्रममा त्रि–धार्मिक हलेसीका लागि हलेसी विकास समितिलाई नगरपालिकाले पञ्चेबाजा हस्तान्त्रण गरेको छ ।
सोमबार आयोजना गरिएको पुरस्कार वितरण एवं नगरपालिकालाई पूर्णखोप सुनिश्चितता कार्याक्रम जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा समन्वय उपप्रमुख सुरेश तामाङ, नगर प्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरे, जिल्लास्थित चार वटै सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।
शिक्षा क्षेत्रलाई प्राथमिकला दिएर शैक्षिक सुधारमा महत्वपूर्ण कामहरु गरिरहेको नगरपालिकाले हरेक वर्ष नतिजा सुधार गर्दै गएको नगर प्रमुख राईले बताउनुभएको छ ।