खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

रोदिक खबर

२२, आषाढ २०८२
  • 3.6K
    SHARES
  • खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

    खोटाङ । खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि खोटाङलाई आइतबार एक कार्यक्रमका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

    नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको १४ प्रकारको खोपको मात्र ५९ महिना मुनीका सबै बालबालिकाले लगाएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङको प्रतिवेदनमा उल्लेख छ ।

    हाल जिल्लामा १५ महिना मुनिका दुई हजार पाँच सय ५७ जना र १६ महिनादेखि ५९ महिनासम्मका सात हजार पाँच सय ८२ जना बालबालिका रहेका छन् ।

    उनीहरु सबैले खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईंले जानकारी दिए।

    खोप तालिका अनुसार सबै बालबालिकाले लगाए नलगाएको भनेर १६ देखि ५९ महिनासम्मका बालबालिकाको खोप अवस्थाको पहिचान गर्ने गरिन्छ ।

    छुटेको भेटिएका बालबालिकालाई खोपको सबै मात्रा लगाएर पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरिन्छ । यस्तै ५ जना बालबालिकामा खोप छुटेको पाइएको थियो । उनिहरु सबैलाई पूरा खोप लगाइएको चौलागाईंले जानकारी दिए । 

    ७९ वडा र १० वटा पालिका रहेको जिल्लामा वडा हुँदै सबै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएपछि जिल्लालाई घोषणा गरिएको हो ।

    यस्तै, आगामि वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने, कसैलाई नछुटाउने प्रतिबद्धतासहित हस्ताक्षरसमेत गरिएको छ ।

    घोषणा कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तह र १० जना महिला स्वयंसेवीकालाई जिल्ला जिल्ला खोप समन्वय समितिले सम्मानसमेत गरेको छ । 

    जिल्ला समन्य समितिका प्रमुख सनबहादुर राईको अध्यक्षता तथा कोशी प्रदेशका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य सचिव डा. राधिका थपलिया , पूर्व सांसद कुल प्रसाद फुयाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राई, केपिलासगढी गाउँपालिकाक अध्यक्ष समीर राई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, जिल्लाका राजनीतिक दल प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका स्वास्थ्य शाखा संयोजक लगायतको उपस्थिति रहेको थियो । 

    खोटाङलाई २०७४ पश्चात हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिदै आएको छ । 

    प्रकाशित मिति :आषाढ २२, २०८२ आइतवार - १३:१९:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको