खोटाङ । बाँससम्बन्धी सरकारले नीतिगत निर्णय गर्नुपर्ने माग राख्दै भोक हड्ताल गर्ने घोषणा गरेर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई काठमाडौँ पुगेका छन् ।
सिंहदरबार अगाडि भोक हड्ताल गर्ने घोषणा गरेका नगरप्रमुख भट्टराई बाँस र बाँसबाट निर्माण भएका सामग्री लिएर आइतबार काठमाडौँ पुगेका हुन् ।
नगरप्रमुख भट्टराईले बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई सदुपयोग गरेर आम्दानी लिने वातावरण निर्माणको माग राखेका छन् ।
आर्थिक समृद्धिका लागि बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई प्रयोग गर्ने नीतिगत व्यवस्थाको माग गर्दै नगरप्रमुख भट्टराईले काठमाडौं पुगेर साउन ११ गतेदेखि भोक हड्ताल गर्ने घोषणा गरेका हुन् ।
जसको लागि साउन ४ गते बाँस, बाँसबाट निर्माण भएका विभिन्न सामग्री, परालबाट निर्माण भएको गुन्द्री, राडी लगायतका सामग्री लिएर नगरप्रमुख भट्टराई काठमाडौँ गएको उपप्रमुख विसन राईले बताए ।
जताततै पाइने बाँसलाई प्रयोग गरेर आर्थिक आम्दानी लिने वातावरण निर्माणका लागि सङ्घीय सरकारको ध्यानाकर्षणका लागि सत्याग्रहको घोषणा गरिएको नगरप्रमुख भट्टराईको भनाइ छ।
तीन दिनसम्मको भोक हड्तालबाट माग सम्बोधन नभए साउन १४ गतेदेखि आमरण अनशन बस्ने प्रमुख भट्टराईले बताए ।
साउन ११ गते माइतीघर मण्डलामा भोक हड्ताल गर्ने नगरप्रमुख भट्टराईको तयारी छ। तीन दिनसम्म दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म भोक हड्तालमा बस्दा पनि माग सुनुवाइ नभए साउन १४ गते बिहान ९ बजेदेखि आमरण अनशन बस्ने उनको भनाइ छ।
बाँसको महत्त्वलाई उजागर गर्नका लागि नगरपालिकाले गत २०८१ फागुन १५ गतेदेखि फागुन १७ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन गरेको थियो।