शुक्रवार, भाद्र २६ गते २०८३

हलेसी दर्शन गरेर फर्कँदै गरेका यात्रु चढेको माईक्रोबस दुर्घटना हुँदा एकको मृत्यु, १४ जना गम्भीर घाइते

हलेसी दर्शन गरेर फर्कँदै गरेका यात्रु चढेको माईक्रोबस दुर्घटना हुँदा एकको मृत्यु, १४ जना गम्भीर घाइते

रोदिक खबर

१९, श्रावण २०८२
  • 2.4K
    SHARES
  • हलेसी दर्शन गरेर फर्कँदै गरेका यात्रु चढेको माईक्रोबस दुर्घटना हुँदा एकको मृत्यु, १४ जना गम्भीर घाइते

    खोटाङ । हलेसी दर्शन गरेर फर्केका यात्रु लिएर सिरहातर्फ जाँदै गरेको माईक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माईक्रोबस मध्यपहाडी लोकमार्ग अन्तरगत जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै आज (सोमबार) बिहान करिब नौँ बजे दुर्घटना भएको हो ।

    दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छैन । माईक्रोबस दुर्घटनाका घाइतेलाई उद्धार गरेर उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

    दुर्घटनाका घाइतेमध्ये छ जनालाई आईसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रवक्ता गिरीले बताए । घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचारत आठ जनाको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

    दुर्घटनाग्रस्त माईक्रोबसमा १६ जना यात्रु सवार रहेको खुलेको छ । दुर्घटनास्थलमा खटिएका प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

    दुर्घटनाग्रस्त माईक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनास्थलमा बुट्यान र झाडी भएकाले ठूलो सङ्ख्यामा मानवीय क्षति हुनबाट जोगिएको प्रवक्ता गिरीले बताए ।

    दुर्घटनाको कारण खुल्न बाँकी रहेको र विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ । माईक्रोबस दुर्घटना हुँदा विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा लागेको ‘बोलबम’ मेला भरेर फर्किएका दर्शनार्थी दुर्घटनामा परेको हो ।

    हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम लाग्ने गर्दछ । महिना दिनसम्म लाग्ने बोलबम मेला भर्नका लागि दर्शनार्थीहरुले निजी तथा भाडाका गाडी रिजर्भ गरेर ल्याउने गरेका छन् ।

    प्रकाशित मिति :श्रावण १९, २०८२ सोमवार - १३:०६:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको