मन्त्री राईले शुरु गरे डिजिटल भुक्तानी सेवाको शुभारम्भ

मन्त्री राईले शुरु गरे डिजिटल भुक्तानी सेवाको शुभारम्भ

रोदिक खबर

२३, श्रावण २०८२
  • 5.4K
    SHARES
  • मन्त्री राईले शुरु गरे  डिजिटल भुक्तानी सेवाको शुभारम्भ

    खोटाङ । भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्रदेशस्थित सरकारी कार्यालयमा पहिलो पटक डिजिटल भुक्तानी (क्यूआर) सेवाको शुक्रबार शुभारम्भ गरेका छन् ।

    मन्त्री राईले प्रयोगशालामा स्वास्थ्य जाँचका लागि क्यूआरबाट भुक्तानी गरेर प्रदेशको सरकारी कार्यालयमा पहिलो पटक डिजिटल भुक्तानी सेवा सुरु गरेका हुन् । योसँगै कोशी प्रदेशको डिजिटल यात्रा सुरु भएको हो ।

      मन्त्री राईले सुशासन कायम गर्न डिजिटल भुक्तानी प्रमुख माध्यम भएकोले प्रदेश मातहतका सम्पूर्ण अस्पतालहरुमा समेत सेवाग्राहीलाई शुल्क तिर्नका लागि डिजिटल भुक्तानी सेवा सुरु गर्न निर्देशन दिएका छन् ।

     प्देश लेखा नियन्त्रक दामोदर खत्रीले प्रदेश सरकारले सबै भुक्तानी डिजिटल गर्दै आएको र अब प्रदेश सरकारले सेवाग्राहीबाट राजश्व संकलनका लागि प्रदेशस्थित सरकारी कार्यालयमा पहिलो पटक डिजिटल भुक्तानी सेवा सुरु गरेको बताएका हुन् ।

    ‘डिजिटल भुक्तानीले सेवाग्राही र सेवाप्रदायक कार्यालयका कर्मचारीबीच दुरी कायम हुने र सेवाग्राहीले घर बसेरै सेवा प्राप्त गर्छन्,’ उनले भने, ‘यसले प्रदेशमा सुशासन कायम गर्न डिजिटल भुक्तानी सेवा महत्वपूर्ण कडिको रुपमा सावित हुने विश्वास छ ।’

    कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका प्रमुख प्रकाश चन्द्र कार्कीले डिजिटल भुक्तानी सेवाको शुभारम्भसँगै प्रयोगशालामा सेवा प्राप्त गर्न आउने सेवाग्राहीलाई अब नगद बोकेर आउने झन्झट समाप्त भएको बताएका छन् ।

    उनले प्रयोगशालामा सेवा प्राप्त गर्न आउने सेवाग्राहीले अब डिजिटल अर्थात् क्यूआर सेवाबाट र नगद दुबै माध्यमले शुल्क तिरेर सहज सेवा प्राप्त गर्न सक्ने व्यवस्था गर्न सफल भएको बताएका हुन् ।

    प्रमुख कार्कीले प्रयोगशालाबाट गत आर्थिक वर्षमा २३ हजार ६९० जना बिरामीलाई प्रयोगशाला परीक्षण सेवा प्रदान गरिएको बताएका छन् ।

    जसमा प्रयोगशालामा आएर प्रत्यक्ष रुपमा २२ हजार ३९० जनाले सेवा प्राप्त गरेका छन् भने स्वास्थ्य मन्त्रालयले सुरु गरेको कुरियर सेवामार्फत प्रदेशका विभिन्न जिल्लाका १३ सय बिरामीले सेवा प्राप्त गरेको प्रमुख कार्कीले बताएका हुन् ।

    उनले कुरियर सेवा प्राप्त नमूनामध्ये इलाम र ताप्लेजुङका दुई जना बिरामीमा क्यान्सर रोग पत्ता लगाउन डा. सिर्जना यादव सफल भएको बताएका छन् । 

    प्रयोगशालाले बिरामीलाई सेवा दिए वापत २ करोड २६ लाख ६२ हजार ९७५ रुपँयाको कारोबार समेत गरेको छ । जसमा सेवाग्राहीबाट १ करोड ६५ लाख २७ हजार ४४० रुपैयाँ राजश्व संकलन भएको छ भने ६९ लाख ३४ हजार ७३५ रुपैयाँ सेवाग्राहीलाई छुट दिइएको प्रमुख कार्कीले बताएका छन् । 

    उनले गत आर्थिक वर्षमा प्रयोगशालाबाट सेवाग्राहीलाई सहज र व्यवस्थित रुपमा सेवा प्रवाहका लागि सुधारको काम समेत गरिएको बताए ।

    ‘सेवाग्राहीलाई एउटै कोठाबाट प्रयोगशाला जाँच सेवा प्रदान गर्न इन्टिग्रेटेड प्रयोगशाला सञ्चालन, किनेर पानी नखानका लागि र खर्च घटाउन वाटर डिष्टिलेशन प्लान्ट जडान, ५ हजार महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गर्यौँ,’ उनले भने, ‘क्यान्सर रोगको परीक्षणका लागि हिस्टो प्याथोलोजि प्रयोगशाला अञ्चालन र विश्व स्वास्थ्य संगठनको सहयोगमा एएमआर साइटहरु छनोट गरी कटारीलगायतका अस्पतालबाट सेवा सुरु गरेका छौं ।’ 

    चालु आर्थिक वर्षमा यस प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि आईएसओ १५१८९ः२०२२ प्रमाणीकरण गराउने, प्रयोगशाला दर्ता नवीकरणलाई पूर्ण रुपमा डिजिटलयुक्त बनाएर घरबाटै दर्ता नवीकरण गर्ने प्रमुख कार्कीले योजना ल्याएको छ ।

    यसका साथै कोशी प्रदेशस्थित सम्पूर्ण निजी प्रयोगशालाहरुलाई स्थानीय तह र संघीय सरकारको सम्न्वयमा पूर्ण रुपमा दर्ता प्रक्रियामा लग्ने र क्षयरोग, मलेरिया, डेंगु, दादुरा, जे.ई. जस्ता रोगहरुको पहिचानका लागि मलिकुलर बिधिबाट परीक्षण सुरु गर्ने लक्ष्य रहेको उनले बताएका छन् । 

    प्रकाशित मिति :श्रावण २३, २०८२ शुक्रवार - १२:४४:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको