खोटाङ । खोटाङको दिक्तेलबजारमा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गरिने भएको छ । डेंगी रोगको नियन्त्रण तथा रोकथामका लागि लामखुट्टेको लार्भा खोजी गरि नष्ट गरिने भएको हो।
स्वास्थ्य कार्यालय खोटाङको आयोजनामा आइतबार जिल्ला समन्वय समितिको सभाहलमा डेंगी रोग सम्बन्धी सरोकारवालासँग अभिमुखीकरण तथा अन्तरक्रिया गरी भदौ २ गते लामखुट्टेको लार्भा खोजी गरी नष्ट गरिने निर्णय गरिएको स्वास्थ्य कार्यालय खोटाङका कार्यक्रम संयोजक राजु राउतले जानकारी दिए।
त्यसका लागि भोली २ भदौ बिहान ७ बजेदेखि दिक्तेलबजार आसपास रहेका ग्यारेज, होटल तथा चोकहरुमा डेंगी रोग सार्ने लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गरिनेछ । लार्भा खोजी कार्य अस्पताल चोकदेखि अल्छेढुंगा–रत्नपार्क, रत्नपार्क–दिक्तेलबजार हुँदै हाँटडाँडासम्म चल्नेछ ।
दशवटै स्थानीय तहमा डेंगी सार्ने लामखुट्टेको बासस्थान तथा लार्भा खोजी नष्ट गर्ने, सबै विद्यालय, टोल, सरकारी कार्यालयहरुमा सचेतनाममूलक कार्यक्रम गर्न स्थानीय तहहरुलाई अनुरोध गर्ने, डेंगी रोग सम्बन्धी सचेतनामूलक सन्देश व्यापक रुपमा सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने र दिक्तेलबजारमा डेंगी सार्ने लामखुट्टे प्रकोप क्षेत्र र ग्यारेज सञ्चालन रहेको क्षेत्रमा डेंगी रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाइले बताए ।
डेंगी एडिस एजिप्टा जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो । साउन महिनामा मात्रै खोटाङमा १२ जनामा डेंगी रोग देखिएको थियो । १२ जनामध्ये दुई जना बिरामीलाई उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ।