खोटाङ, १२ भदौ । कोशी प्रदेश आमसञ्चार सम्वन्धी व्यवस्था गर्न बनेको विधेयकमा समावेश प्रेस स्वतन्त्रता बिरोधी प्रावधान खारेजीको माग गर्दै खोटाङका पत्रकारले धर्ना दिएका छन् ।
विधेयकमा समेटिएका केही प्रावधान सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङको कार्यालय अगाडि एक घण्टा धर्ना दिएका हुन् ।
सञ्चारमाध्यम र पत्रकारहरूलाई अंकुश लगाउने, कारवाही र क्षतिपूर्ति भराउनेगरि ल्याइएको विधेयक सच्याइनुपर्ने माग गर्दै नेपाल पत्रकार महासंघ शाखाको नेतृत्वमा भदौ १२ गते प्रशासन अगाडि धर्ना दिइएको हो ।
प्रदेश आमसञ्चार विधेयकमा संविधान विपरित ‘प्रशारणमा रोक’ लगाउनेदेखि पत्रकारलाई एक लाखसम्म दण्डजरिवाना गर्ने व्यवस्था हटाइनुपर्ने नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताए ।
मूल विधेयकभन्दा धेरै जरिवाना र कतिपय प्रेस स्वतन्त्रता विरोधी व्यवस्था गरिएकाले पत्रकार बिरोधमा उत्रिएका हुन् । कुनै आमसञ्चार माध्यम वा संस्था वा पत्रकारले व्यवसायीक आचारसंहिता उल्लंघन गरेमा आमसञ्चार प्रतिष्ठान समक्ष जोसुकैले निबेदन दिने प्रावधान पनि सच्याउनुपर्ने पत्रकारको माग छ ।
प्रदेशको न्याय, प्रशासन तथा विधायन समितिले प्रेस स्वतन्त्रता हरण गर्ने प्रावधानसहितको प्रतिवेदन भदौ ६ गते कोशी प्रदेशसभामा पेस गरेको छ ।
सो विधेयकलाई भदौ १३ गते बस्ने भनिएको प्रदेशसभा बैठकबाट पारित गर्ने तयारी भइरहेको छ । त्यसकै बिरोधमा प्रदेशभरीका पत्रकार आन्दोलनमा उत्रिएका हुन् ।