खानीडाँडा-याम्खा-पञ्चमीबजार सडक कालोपत्रे गर्न ३० करोड बजेट सुनिश्चित

खानीडाँडा-याम्खा-पञ्चमीबजार सडक कालोपत्रे गर्न ३० करोड बजेट सुनिश्चित

रोदिक खबर

१४, भाद्र २०८२
  • 4.2K
    SHARES
  • खानीडाँडा-याम्खा-पञ्चमीबजार सडक कालोपत्रे गर्न ३० करोड बजेट सुनिश्चित

    खोटाङ १४ भदौ । खोटाङको खानीडाँडा–याम्खा सडक कालोपत्रेको लागि बहुवर्षे योजनामा स्रोत सुनिश्चित भएको छ । तीन वर्षमा ३० करोड बजेटले जिल्ला सदरमुकामसँग दक्षिणी भेग जोड्ने लाइफलाइन सडक कालोपत्रेको लागि बुहवर्षे योजनामा स्रोत सुनिश्चित भएको हो ।

    कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले खानीडाँडा विमानस्थलदेखि याम्खा रातमाटा–दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै पञ्चमीसम्म जोड्ने सडक बहुवर्षे योजनामा समावेश गर्दै कालोपत्रे गर्ने निर्णय गरेर सिफारिस गरेको थियो ।

    उक्त सिफारिसलाई आर्थिक मामिला तथा योजना मन्त्रालयले भदौ ३ गते स्रोत सहमती दिएको छ ।

    खानीडाँडा–याम्खा सडक कालोपत्रेको लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा भौतिक पूर्वाधार मन्त्रालयले ३ करोड बजेट विनियोजन पनि गरिसकेको छ ।

    बहुवर्षे योजनामा स्रोत सुनिश्ति भएसँगै अब चाडै टेण्डर खुल्ने भौतिक पूर्वाधार, एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बताए ।

    मन्त्रालयले सडक आयोजनालाई अगाडि बढाउन पूर्वाधार विकास कार्यालय खोटाङलाई भदौ १३ गते पत्रसमेत पठाइसकेको छ ।

    जिल्ला सदरमुकाम दिक्तेलबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले आहालेसम्म १० किलोमिटर सडक यस अघिनै कालोपत्रे भइसकेको छ ।

    मन्त्री राईले खानीडाँडा विमानस्थलदेखि खोटेहाङ गाउँपालिका–४ थामखर्क विमानस्थलसम्मको सडक कालोपत्रे योजना अघि बढाएका हुन् ।

    उक्त ४१ किलोमिटर सडकलाई दुई खण्डमा कालोपत्रे योजना अघि बढाइएको छ । अर्को खण्ड सडक संघीय समपुरक अनुदानबाट कालोपत्रे गर्न लागिएको मन्त्री राईले बताए ।

    कोशी प्रदेशबाट कार्यान्वयन हुने गरी संघीय समपुरक अनुदानबाट ३० करोडको वहुवर्षे योजना समावेश भएको छ । खानीडाँडाबाट थामखर्कसम्म सडक कालोपत्रेको लागि समग्र ६० करोडको स्रोत सहमती भएको हो ।

    मन्त्री राई यस अघि दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष हुँदा निर्माण गरिएको खानीडाँडा याम्खा सडकलाई कालोपत्रे गर्ने गरी योजना अघि बढाइएको हो ।

    साप्सु खोलामा यस अघि नै मोटरेबल पुल पनि निर्माण भइसकेको छ । उक्त सडक कालोपत्रे हुँदा जिल्लाका दक्षिणी भेगका नागरिकको जीवनस्तर फेरिने छ ।

    खोटाङमा बहुवर्षे योजनाकोरुपमा मन्त्री राईले जन्तेढुंगा गाउँपालिकामा पर्ने रुवाफेदी बुवाखोलामा सडक पुल निर्माणको लागि २५ करोड, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदी जोड्ने तापखोलामा पक्की पुल निर्माणको लागि ८ करोड ६८ लाख ४९ हजार, रावाबेसी गाउँपालिका ६ हौँचुर र १ कुभिण्डे जोड्ने लोचाखोलामा मोटरेबल पुल निर्माणको लागि ५ करोड ११ लाख ४६ हजार, र नेपाल पत्रकार महासंघ खोटाङको भवन निर्माणको लागि ३ करोड बजेटको स्रोत सुनिश्चितसँगै सहमती गराएर योजना अघि बढाएका छन् ।

    उक्त सबै योजनाहरु टेण्डर प्रक्रियामा अघि बढेका छन् । आर्थिक वर्ष २०८२/०८३ मा कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट मन्त्री भूपेन्द्र राईले खोटाङका लागि समग्र १ अर्ब २ करोड ५८ लाख २५ हजार बजेट विनियोजन गरेका छन् ।

    प्रकाशित मिति :भाद्र १४, २०८२ शनिवार - २०:०२:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको