विकासमा पछि परेको भूगोललाई माथि उठाउने कोशिस गरिरहेको छु : मन्त्री राई

विकासमा पछि परेको भूगोललाई माथि उठाउने कोशिस गरिरहेको छु : मन्त्री राई

रोदिक खबर

१८, भाद्र २०८२
  • 4.3K
    SHARES
  • विकासमा पछि परेको भूगोललाई माथि उठाउने कोशिस गरिरहेको छु  : मन्त्री राई

    खोटाङ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले विकास निर्माणमा पछि परेको भूगोललाई माथि उठाउने प्रयास भइरहेको बताएका छन् । 

    बुधबार उदयपुरको चौदण्डीगढी नगरपालिकामा नेपाली कांग्रेस नगर कार्यसमितिले आयोजना गरेको भेटघाट कार्यक्रममा सम्बोधन गर्दै मन्त्री राईले खोटाङ जिल्लाको लामो समयदेखिको यातायात समस्या समाधान गर्न लाग्दा अनावश्यक अवरोध खडा गरिएको बताए ।

    “२१औं शताब्दीमा समेत खोटाङ बर्खामा तराईसँग टुट्छ, म यो पीडालाई केही हदसम्म सम्बोधन गर्न चाहन्छु। तर, बजेटलाई अतिरञ्जित गरेर प्रचार गर्नेहरूकै कारण चुनौती थपिएको छ,” मन्त्री राईले भने।

    उनले आफ्नो निर्वाचन क्षेत्रमा जाँदा गाडी सुनकोशी वारी छोडेर पैदल यात्रा गर्नुपर्ने बाध्यता देखाउँदै, “यसको अन्त्यका लागि बजेट विनियोजन गर्दा आपत्ति जनाउनेहरूले पीडित जनतालाई बेवास्ता गरेका हुन्,” भन्दै विरोध नगर्न आग्रह गरे।

    मन्त्री राईले उदयपुर–खोटाङ जोड्ने सुनकोशी नदीस्थित बंशिलाघाटमा यसै वर्ष बेलीब्रिज जडान गरिने र दीर्घकालीन समाधानका लागि बहुवर्षीय योजनामार्फत बेल्टार–बंशिलाघाट सडक ठेक्का प्रक्रियामा लैजाने तयारी भइरहेको जानकारी दिए।

    “अब बंशिलामा पुल बनेपछि उदयपुर, खोटाङ र भोजपुरबीच सीधा यातायात जोडिन्छ। यसले उदयपुरका बजारमा नयाँ आयाम थप्छ,” उनले जोड दिए।

    कार्यक्रममा स्थानीय नेताकार्यकर्ताले सडक, बेलीब्रिज, क्याम्पस भवनलगायतका मागपत्र बुझाएका थिए।

    नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति खगेन्द्र राईले बेल्टारस्थित कोभिड अस्पताललाई ट्रमा सेन्टरमा रुपान्तरण गर्न आग्रह गर्दै मदन भण्डारी राजमार्गमा बढ्दो सवारी दुर्घटनालाई ध्यान दिनुपर्नेमा जोड दिए।

    नेपाली कांग्रेस नगर सभापति राजेन्द्र पौडेलको अध्यक्षता र नगर सचिव रोहित तामाङको सञ्चालनमा सम्पन्न कार्यक्रममा मन्त्री राईले विकासमा छायामा परेका भूगोललाई संघीय, प्रदेश र स्थानीय सरकार मिलेर उठाउने प्रतिवद्धता दोहोर्‍याए।

    प्रकाशित मिति :भाद्र १८, २०८२ बुधवार - २०:३४:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको