खोटाङ । खोटाङमा सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । सुमो र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटनाहुँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असोज २ गते बिहान ८ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा रामपुरस्थित मध्य पहाडी लोकमार्गमा दुर्घटना भएको हो ।
भोजपुरबाट काठमाण्डौ जादै गरेको ना १ ज ५६६१ नम्बरको सुमो र विपरित दिशाबाट जादै गरेको मे ७ प ९७२४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाइ दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाँडाका ३१ वर्षीय मिलन राई र मोटरसाइलको पछाडी सवार जन्तेढुङ्गा गाउँपालिकाकी २४ वर्षीया सुष्म राई घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शुसान्त मिश्रले बताए ।
मिलन राईको दाहिने खुट्टामा चोट लागेको छ । उनको समान्य उपचार पश्चात जिल्ला अस्पताल खोटाङले डिचार्ज गरिसकेको छ ।
सुष्माको दुबै खुट्टामा चोट लागेको छ, एउटा तिघ्राको मासुको चोक्टोनै निस्किएकाले उनको थप उपचारको लागि काठमाडौं पठाइएको अस्पतालका प्रमुख ड. रुपेश सङ्ग्रौलाले बताए ।
सुमो चालक पर्सा जिल्ला गढी नगरपालिका–५ का २६ वर्षीय अफताव आलम र सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।